Nic Ad Nic Ad
Nic Ad Nic Ad

लामिछानेका साथी बोहोरालाई प्रश्न– जीबीबाट पत्रकार धमलाले ५ करोड माग गरेको अडिओ कहाँ छ?

बुधबार, माघ १६, २०८१

काठमाडौं– पहिलो पटक ३२ दिने उपप्रधान तथा गृहमन्त्री पद मात्र होइन नागरिकता प्रकरणमा सर्वोच्चको फैसलाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पदच्युत भएपछि बसुन्धरामा पत्रकार सम्मेलन गरी आक्रामक शैलीमा भनेका थिए– जीबी राईसँग ऋषि धमलाले ५ करोड मागेको अडिओ अहिले पनि दीपक बोहोराको मोबाइलमा छ।

विभिन्न मिडियामाथि खनिने क्रममा लामिछानेले पत्रकारका नामै किटेर एक से एकमाथि खनिने गरेका थिए। सो क्रममा उनले भनेका थिए,‘अरे बा, सर्कसमा पनि एउटा जोक्कर चाहिन्छ। त्यो जोक्कर ऋषि धमला हुन्। हामीलाई थाहा छैन र?’

लामिछाने दोस्रो पटक पनि उपप्रधान तथा गृहमन्त्री भए तर आफैंले लगाएको उक्त आरोप पुष्टि गर्न सकेनन् भने धमलामाथि कुनै पनि प्रकारको अनुसन्धान गराउन सक्षम भएनन्। बरु, आफूविरुद्ध निरन्तर प्रहार गरेको कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहियालाई नक्कली नागरिकता प्रकरणमा मिडिया हाउसमा प्रहरी पठाएर पक्राउ गरेका थिए।

त्यसलाई सम्पादक समाज, मिडिया सोसाइटिले प्रतिशोध लिएको भन्दै आपत्ति जनाएका थिए। जब चार महिनामा पद खुस्कियो अनि सदनमा लामिछानेले फेरि भने,‘कसैमाथि अनुसन्धान गर्नै हुँदैन, लोकतन्त्र खतरामा परिहाल्छ। छुनै हुँदैन।’

सहकारको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोगमा लामिछानेविरुद्ध ५ वटा जिल्लामा उजुरी दर्ता भएपछि तीन वटा जिल्लाका अदालतमा थुनछेक बहस सकी हाल धरौटीमा रिहा छन्।

कसुरदार होइन भन्न सक्ने अवस्था नरहेको भनी जिल्ला अदालतहरू कास्की, काठमाडौं र रुपन्देहीले क्रमशः ६५ लाख, ६० लाख र एक करोड धरौटीमा रिहा गरेको छ। जुन–जुन जिल्लामा सुनुवाई भइरहेको छ, त्यहि त्यहि जिल्लाबाट रविका साथी र सहयोगी तथा रास्वपाका सहकोषाध्यक्ष दीपक बोहोराले लाइभ गरिरहेका छन्। 

उनै बोहोरालाई आम नागरिकका तर्फबाट प्रश्न छ– ऋषि धमलाले जीबीसित के प्रयोजनका लागि ५ करोड माग गरे र त्यो अडिओ अहिलेसम्म किन सार्वजनिक भएको छैन?

दुई पटक उपप्रधान तथा गृहमन्त्री बन्दा लामिछानेको प्रमुख स्वकीय सचिव समेत रहेका बोहोरालाई थप प्रश्न छ,‘किन अनुसन्धान र छानबिन नगराएको?’

सम्बन्धित प्रश्नको उत्तरहिन रहेका बोहोराले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका बेला लामिछानेको तस्बिर सार्वजनिक गरी विवादीत पारेका थिए। 

बोहोराले सामाजिक सञ्जालमा एउटा तस्बिरसहित पोस्ट् लेखे– अन्याय गर्नुको पनि हद हुन्छ। रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला? अनि के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य।’

रविको अवस्थाबारे कसैलाई जानकारी गराउन हिरासत कक्षमा राखिएको सिसिटिभी फुटेजको स्क्रिन सट गरिएको र त्यो अहिले त्यसैलाई अहिले सार्वजनिक गरिएको दाबी बोहोराको थियो।

यस प्रकरणमा डा. निकोलश भुसाल पक्राउ गरिएको थियो। बोहोराका कारणले नै भुसाल पक्राउ गरी छानबिनको दायरामा पुगेका थिए। 

नियमतः हिरासतमा रहेका व्यक्तिको गतिविधि दर्शाउने तस्बिर तथा भिडिओ सार्वजनिक गर्न पाइँदैनथ्यो। बोहोराले सामाजिक सञ्जालमार्फत उक्त तस्बिर सार्वजनिक गरेसँगै यो तस्बिर अहिले भाइरल बनेको थियो, जसले डा. भुसाललाई पनि हिरासतमा लगेको थियो।
 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्