मदनको गृह जिल्लामा फेरि किन प्रकट भयो विद्यादेवीको एमालेमा सक्रिय हुने चाहना?
काठमाडौं– दोस्रो पूरा अवधि बिताए पनि पहिलो कार्यकाल दुई बर्षको आसपासमा राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले मोरङ पुगेर पुनः नेकपा एमालेको राजनीतिमा सक्रिय भूमिकामा उत्रिने चाहना प्रकट गरिन्।
सुनसरीको इटहरीस्थित जनता माध्यमिक विद्यालयको बार्षिकोत्सवको उद्घाटनका लागि पुगेकी उनले पति तथा नेपाली कम्युनिस्ट आन्दोलनका महान् व्यक्तित्व मदन भण्डारीको गृह जिल्ला मोरङमा पुगेर राजनीतिमा सक्रिय हुने इच्छा प्रकट गर्नु अर्थपूर्ण छ।
अझ उनलाई राजनीतिमा सक्रिय हुने सहजता नेकपा माओवादीका पूर्वनेता तथा भण्डारीकै कार्यकालका उपराष्ट्रपति नन्दबहादुर पुनःको सक्रियताको चर्चाले पारिदिएको छ।
पुनः माओवादीको पदाधिकारीमा नारायणकाजी श्रेष्ठपछिको उपाध्यक्षको बरियतामा उक्लिने प्रयासमा छन्।
एमालेमा पनि भण्डारीको सक्रियताको विषय केही अगाडिदेखि चर्चामा रहेको थियो। एमालेमा रहेर उनले महिला आन्दोलनको अग्रणी भूमिका निर्वाह गरेकी थिइन्।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको खेमामा देखिने गरेकी उनी हाल भने समानान्तर शक्तिका रुपमा उदय हुन लागेको चर्चा अस्वभाविक रुपमा अगाडि बढेको छ।
सम्भवतः विधान सम्मेलनमा उनको भूमिका सक्रिय रहनेछ, त्यसका निम्ति उनले संगठित सदस्यतालाई क्रियाशिल बनाइसकेकी छन्।
एमालेका एक नेता भन्छन्,‘उहाँले राजनीति गरेर कार्यकारी पदमा आउन नहुने भन्ने छैन। कम्युनिस्ट नेतामा त्यो स्वभाविक प्रक्रिया हो। जसरी रुसका राष्ट्रपति भ्लादिमर पुटिन प्रधानमन्त्री र राष्ट्रपति बारम्बार बनेका छन् अरुले पनि बन्न पाउँछन्।’
त्यसो त भण्डारीको योगदान बलियो रहेको पनि चर्चा हुने गर्दछ।
भण्डारी नेपालको राजनीतिक इतिहासमा एक प्रभावशाली महिला नेतृको रूपमा स्थापित छिन्।
नेपालको पहिलो महिला राष्ट्रपति बन्ने गौरव हासिल गरेकी भण्डारीको राजनीतिक यात्रा संघर्ष, समर्पण र सफलताले भरिपूर्ण छ।
विद्यार्थी जीवनदेखि नै राजनीति प्रति रुचि राख्ने भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्।
भण्डारीको राजनीतिक यात्रा अखिल नेपाल महिला संघ (अनेमसंघ) र विद्यार्थी आन्दोलनबाट शुरू भएको थियो।
वामपन्थी विचारधाराबाट प्रभावित भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को राजनीतिमा सक्रिय सहभागिता जनाइन्। विशेष गरी, उनले २०४६ सालको जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्।
पति मदन भण्डारीको ०५० सालमा रहस्यमयी निधन भएपछि भण्डारी थप सक्रिय भएर राजनीतिमा लागिन्। उनले आफ्ना दिवंगत पति मदन भण्डारीको राजनीतिक विचारलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै नेकपा (एमाले) भित्र महिला नेतृत्वको स्थान मजबुत बनाइन्।
भण्डारी पहिलो पटक प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भइन्।
त्यसपछि उनले लगातार संसदमा विभिन्न भूमिकामा योगदान दिइन्। उनी २०५२ सालमा पुनः सांसद निर्वाचित भइन्।
२०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा उनी रक्षा मन्त्रीको रूपमा नियुक्त भइन्।
नेपालको इतिहासमा पहिलो महिला रक्षा मन्त्रीको रूपमा उनले महिला सशक्तिकरण र सुरक्षासम्बन्धी मुद्दामा महत्वपूर्ण काम गरिन्।
संविधानसभा मार्फत २०७२ सालमा नयाँ संविधान जारी भएपछि नेपालले गणतान्त्रिक व्यवस्थालाई थप संस्थागत गर्ने दिशामा अघि बढ्यो। सोही सन्दर्भमा, २०७२ साल कात्तिक ११ गते विद्यादेवी भण्डारी नेपालकी पहिलो महिला राष्ट्रपति निर्वाचित भइन्।
नेपालको इतिहासमा यो निकै महत्त्वपूर्ण क्षण थियो। उनले २०७८ सालमा दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति पदमा निर्वाचित भइन्।
राष्ट्रपति भण्डारीको कार्यकालमा नेपालमा विभिन्न राजनीतिक तथा प्राकृतिक संकटहरू आए। विशेष गरी, उनले नेपालको संविधानको कार्यान्वयनमा भूमिका खेलिन्।
उनको राष्ट्रपतिकालमा महिला सशक्तिकरण, राष्ट्रिय एकता र कूटनीतिक सम्बन्ध सुधारका क्षेत्रमा महत्वपूर्ण पहलकदमी लिइएको देखिन्छ।
उनै भण्डारी फेरि सक्रिय हुने चाहनामा छिन्। उनका पछाडि एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटालगायत महिला नेत्रीहरु रहेको पनि चर्चा हुने गरेको छ।
कतिपयले भने एमालेमा ओलीको उत्तराधिकारीका रुपमा भण्डारी नै स्थापित हुने अड्कल काटेका छन्। जसरी ओलीले दुई पटक राष्ट्रपति बनाउनका लागि भूमिका खेलेका थिए त्यहि पदचापलाई हेर्दा एमालेमा नेतृत्वको उत्तराधिकारीमा भण्डारीलाई हेरिनु अस्वभाविक नहुने कतिपय एमाले नेता बताउने गर्छन्।