सभापति कप फुटबलको उपाधि संकटालाई
काठमाडौँ- नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई हराउँदै संकटा एफसीले सभापति कप फुटबलको उपाधि जितेको छ ।
गोलकिपर दीप कार्कीले पेनाल्टीसुटआउटमा उत्कृष्ट प्रदर्शन गरपछि संकटा एफसीले सभापति कप फुटबलको उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाईनलमा संकटा एफसीले आयोजक टिमलाई सडनडेथमा ४-३ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीसुटआउटमा पुगेको थियो ।
आयोजक टिमका गोलकिपर विशेकले संकटाको सुरुवाती दुई पेनाल्टी प्रहार बचाउँदै सानदार सुरुवात गरेको थियो । तर खेलले नाटकीय मोड लिँदा नतिजा संकटाकोपक्षमा गयो ।
संकटाका लागि लक्षु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे ।
संकटाका गोलकिपर दीप कार्कीले बागमतीका कुलदिप कार्की र गौरव श्रेष्ठको प्रहार बचाएका थिए । बागमतीका रजत तिवारीको प्रहार पोष्ट भन्दा बाहिर गयो ।
त्यसअघि निर्धारित समयमा दुवै टोलीले गोलका लागि अवसर बनाउन सकेनन् । दुवै टोली फिनिसिङ थर्डमा चुकेको थियो ।
प्रतियोगिताको विजेताले नगद २६ लाख हात पार्नेछन् । उप विजेताले १३ लाख रुपैयाँ नगदै पाउने छ ।