अमेरिकन एयरलाइन्सको विमान दुर्घटना : हालसम्म नदीबाट ४० शव निकालियो
काठमाडौं - अमेरिकाको वासिङ्टन डीसीमा विमान र हेलिकोप्टर ठोकिएर खसेको स्थानबाट हालसम्म ४० शव निकालिएको छ । अहिलेसम्म विमान खसेको नदीबाट ४० भन्दा बढी शव निकालिएको सीएनएनले जनाएको छ । अहिले उद्धारको काम चलिरहेको छ ।
चालक दलसमेत ६४ जना सवार विमान र ३ सैनिक चढेको हेलिकप्टर स्थानीय समयानुसार बुधबार राति ९ बजे वासिङ्टन डीसीस्थित रेगन राष्ट्रिय विमानस्थलनजिकै आकासमा ठोकिएर पोटोम्याक नदीमा खसेका थिए । आकासमा ठोकिएर विमान र हेलिकप्टर खसेको पोटोम्याक नदी अमेरिकाको मध्य–एट्लान्टिक क्षेत्रको एक प्रमुख नदी हो ।
दुर्घटनामा कोही पनि जीवित नरहेको निष्कर्षमा अधिकारीहरू पुगेका छन् । दुर्घटनामा सबैको मृत्यु भएको आशंका गरिएको छ । दुर्घटनामा अहिलेसम्म कसैलाई पनि जीवित पाइएको छैन । दुर्घटनाको कारण पहिचानका लागि छानबिन जारी रहेको अधिकारीहरूले जनाएका छन् ।
६४ यात्रु बोकेको अमेरिकी एयरलाइन्सको ‘फ्लाइट ५३४२’ कन्सासबाट वासिङ्टनतर्फ उडिरहेको थियो । सोही समयमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर पनि प्रशिक्षण उडानमा थियो । आकाशमै ठोक्किएर दुवै विमान नदीमा खस्दा ठूलो मानवीय र भौतिक क्षति भएको हो । विशेषज्ञहरूले वासिङ्टन एयर ट्राफिक कन्ट्रोल टावरमा रहेका दुई छुट्टाछुट्टै रेडियो फ्रिक्वेन्सी प्रणाली पनि दुर्घटनाको कारक हुनसक्ने बताएका छन् ।