फिल्म बनाएर चर्चामा नआएकी आशिका बिख्याती कमाउँदैछिन्, रास्वपाका सांसदले जुरुक्क उचाले
काठमाडौं– अभद्र व्यवाहारको मुद्दामा काठमाडौं जिल्ला प्रशासन कार्यालयको आदेशानुसार १० हजार धरौटीमा छुटेकी आशिका तामाङले चर्चामा आउन कुनैबेला फिल्म निर्माण गरेकी थिइन्।
अभिनेता आर्यन सिग्देल चर्चामा रहेका बेला निर्मात्री समेत बनेर अभिनयमा डेब्यु गरेकी आशिकाको फिल्म थियो– सुश्री।
फिल्म फ्लप भयो। आशिकाको चर्चामा आउने सपना मात्र तुहिएन, उनको झन्डै एक करोड रकम समेत डुब्यो।
तर पछिल्ला दिनमा नेपालमा बस्दै आएकी उनी अभियानकर्मी जस्तो बन्न थालिन्। भक्तपुरदेखि काठमाडौंसम्म विभिन्न स्थानमा गोप्य क्यामेराले भिडिओ खिचेर बेथितिपूर्वक थितिको पाठ पढाउन थालेपछि उनी सामाजिक सञ्जालमा चर्चामा आइन्।
एक प्रकारले बिख्याती कमाउन सुरु गरेकी थिइन्। तर, पक्राउ गरी हत्कडीसम्म लगाएका तस्बिर सार्वजनिक भएपछि उनको बिख्याती झनै चुलिएको छ।
अहिले उनी प्रहरी वृत्त जगातीमा छिन्। भक्तपुरमा पनि उनीविरुद्ध अभद्र व्यवाहारको मुद्दा छ।
काठमाडौंमा आशिका तामाङलाई ११ दिन थुनामा राखेपछि सामाजिक सञ्जालदेखि संसदीय समितिसम्म यो मुद्दाबारे छलफल भइरहेका छन्।
अधिकारीहरूका अनुसार भक्तपुरको साँगामा सूर्यविनायक नगरपालिकाले निर्माण गरेको झोलुङ्गे पुल तर्ने टिकट काट्नका लागि निर्माण गरिएका संरचना र टिकटमा क्षति पु¥याएको आरोपमा उनमाथि अनुसन्धान भइरहेको छ।
नगरपालिकाकै उजुरीमा पक्राउ गरेकी उनलाई भक्तपुरमा भने अदालतमै मुद्दा चलाउने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।
प्रहरीका पूर्वअधिकारी र कानुनका जानकारका अनुसार सार्वजनिक शान्ति कायम गर्ने कुरामा अवरोध गर्ने व्यक्तिलाई प्रहरीले यस्तो कसुरमा मुद्दा चलाउने गरेको छ। पहिलो पटक यस्तो कसुर गरेका व्यक्तिलाई अधिकतम एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना हुन सक्छ।
नेपालको विद्यमान कानुनले अधिकतम एक वर्षसम्म कैद सजाय हुने कसुरमा सुनुवाइ र सजाय तोक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।
अपराध संहिताको दफा ११८मा ‘सार्वजनिक स्थान वा प्रवेश गर्न, कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न नहुने’ भनिएको छ। कानुनमा यस्तो कुराको प्रयास गर्ने विषयलाई पनि अभद्र व्यवहारको परिभाषामा समेटिएको छ।
एक पटक यस्तो कसुरमा दोषी ठहर भएका व्यक्ति दोस्रो पटक पनि यस्तै कसुरमा पक्राउ गरेको अवस्थामा भने यस्तो मुद्दा अदालतमा चलाउन सकिने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि काफ्लेले बताएको बीबीसी नेपाली न्यूजले लेखेको छ।
‘एक पटक दोषी ठहर भइसकेको व्यक्तिलाई दोस्रो पटक पनि अभद्र व्यवहारमा पक्राउ हुँदा चाहिँ दफा ४४ बमोजिम पुनः पूरा सजायको आधा थप सजाय हुने भएकाले त्यस्तो अवस्थामा अदालतमै मुद्दा दायर हुन्छ’, काफ्ले भन्छन्।
उनै आशिकालाई अहिले रास्वपाका सांसदले जुरुक्क बोक्न थालेका छन्।
रास्वपा सांसद सोविता गौतमले मङ्गलवार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा अभद्र व्यवहारलाई राज्यले प्रश्न गर्नेहरूलाई पक्राउ गर्ने र थुनामा राख्ने प्रयोजनका लागि दुरुपयोग गरेको आरोप लगाइन्।
‘कसैले प्रश्न गरे राज्यले अभद्र व्यवहारमा पक्राउ गरिहाल्ने, अनुसन्धान प्रयोजनका लागि भनेर थुनामा राख्ने अनि थुन्न मिल्ने समयसम्म थुनामा राखेर ती व्यक्तिहरूलाई अभियोजन गर्ने जस्तो प्रवृत्ति देखिएको छ’, सांसद गौतमको यो टिप्पणीपछि अभद्र व्यवहारबारे पुनः बहस भइरहेको छ।
अभद्र व्यवहारको मुद्दा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा दर्ता भइरहेकोप्रति समेत सांसद गौतमको चासो थियो।
त्यसो त रास्वपाकी अर्की सांसद सुमना श्रेष्ठले जगाती वृत्तमा आशिकालाई भेटेको सार्वजनिक गर्दै राज्यप्रति रोष प्रकट गरेकी थिइन्। आशिकाको तरिका गलत भए पनि आशय गलत नभएको श्रेष्ठको दाबी थियो।
फौजदारी कानुनबारे जानकार अधिवक्ता सुवास आचार्य सामान्य प्रकृतिका अपराधलाई अदालतमा पु¥याउँदा लामो प्रक्रिया पूरा गर्नुपर्ने भएकाले त्यस्ता मुद्दाहरूको सुनुवाइ अर्धन्यायिक निकायहरूबाटै गर्ने अभ्यास र मान्यता रहेको बताउँछन्।
‘निश्चित प्रकृतिका अपराधहरूलाई सामान्य अपराध मानेर न्यूनतम कैद वा जरिबाना हुने प्रकृतिका मुद्दाहरूलाई अर्धन्यायिक निकायलाई निरूपण गर्न दिने गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत राखिएको हो’, उनी भन्छन्।
‘अर्धन्यायिक निकायले फौजदारी मुद्दाहरू हेर्ने कि नहेर्ने भन्ने चाहिँ सधैँभरि छलफलमा उठ्ने विषय हो। तर अर्धन्यायिक निकायहरूले गम्भीर प्रकृतिका मुद्दाहरू चाहिँ हेर्न हुँदैन’, आचार्यले भनेका छन्।
अभद्र व्यवहारमा अधिकतम २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने अधिकार प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई हुने कानुनका जानकारहरू बताउँछन्।
आचार्यका अनुसार मुलुकी अपराध संहिताले नै कसैमाथि ‘बदनियतपूर्वक’ अनुसन्धान वा मुद्दा चलाएको अवस्थामा अनुसन्धान वा अभियोजनमा संलग्न व्यक्तिमाथि पनि सजाय हुनस क्ने व्यवस्था गरेको भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन।
अपराध संहिताको दफा ९९ मा गलत मुद्दा चलाउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
आशिकालाई भेटेकी रास्वपा सांसद श्रेष्ठले भनेकी छन्,‘‘उहाँको तरिका अराजक छ, त्यसमा असहमति हुँदा पनि त्यसमा आम मानिसको आक्रोश प्रतिबिम्वित भएको देख्छु। अभद्र व्यवहारमा अझै के अनुसन्धान गर्न बाँकी छ, जुन अहिलेसम्म हुन सकेको छैन, सबै वृत्तान्तको भिडिओ आफैले पोस्ट गरेकी छिन् त? यो विभिन्न जिल्लामा जाहेरी दिने को हो, अरु जाहेरीमा पनि यही रफ्तारमा कारवाही हुन्छ?’
सुमनाले राज्यसँग केही प्रश्न समेत गरेकी छन्।
उनी थप लेख्छिन्,‘यो त सरासर “हाम्रो विरोध गर्छस् पख देखाइदिन्छु’’ भनेको होइन? यो भन्दा गम्भीर घटना शिक्षालयमा तालबन्दी तोडफोड गर्ने दल संरक्षितहरूलाई केही नगर्ने, प्राध्यापक कुट्नेलाई विदेश जान दिने, दिनमा फरार रातमा प्रहरीकै कार्यक्रममा सरिक भएको पनि देखेकै हो हामीले।’
आशिका नाबालक बच्चाकी आमा भएका कारण उनीप्रति भावनात्मक समर्थन पनि यतिबेला जुटिरहेका छन्। तर उनी चर्चामा आउनका लागि कहिले फिल्म बनाउने, कहिले बलीको बिरोध गर्ने त कहिले सडकमा फोहोर फ्याँक्नेदेखि सडककिनारका मोटेलका खानाको विषयमा भिडिओ बनाएर विवादमा आउने गरेकी थिइन्।