आयो सुखद् खबरः शनिबारसम्म हमासको नियन्त्रणमा रहेका विपिन जोशी छुट्ने सम्भावना
काठमाडौं– शान्ति वार्तासँगै इजरायल र हमासबीच बन्दी आदान प्रदानको क्रम अहिले चरिहेको छ। सो क्रममा हमासको कब्जामा रहेका नेपाली विपिन जोशी शनिबारसम्म छुट्ने सम्भावना रहेको छ।
हमासले इजरायलमा रहेका इजरायली सैनिकसहित विदेशी नागरिक पनि नियन्त्रणमा लिएको थियो। सो क्रममा जोशी पनि परेका थिए। यस्तो सम्भावनाका विषयमा इजरायलमा रहेका नेपाली राजदूत धर्मप्रसाद पण्डितले बताएका हुन्।
प्यालेस्टाइनको गाजास्थित हमास समूहको नियन्त्रणबाट तेस्रो समूहअन्तर्गत बिहीबार साँझ पाँचजना थाई र तीनजना इजरायली नागरिक मुक्त भएका छन्।
अन्तर्राष्ट्रिय रेडक्रसको रोहवरमा हमास समूहले उनीहरूलाई मुक्त गरेको समाचार संस्था अलजजिराले समाचारमा उल्लेख गरेको छ। हमास समूहको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी अझै मुक्त भएका छैनन्।
इजरायली सेनालाई उद्धृत गर्दै अलजजिराले प्रकाशन गरेको समाचारअनुसार हमासको नियन्त्रणबाट तीनजना इजायली (दुई महिला र एक पुरुष) र पाँचजना थाई नागरिक मुक्त भएका छन्।
इजरायलले पनि बिहीबार साँझ ११० जना बन्दीलाई जेलमुक्त गरेको छ, जसमा ३० जना बालबालिका छन्।
इजरायल र प्यालेस्टिनी हमास समूहबिच ३ माघमा भएको युद्धविराम सम्झौताअनुसार हमास समूहले ६ साताभित्र उसको नियन्त्रणमा रहेका ३३ जनालाई नियन्त्रणमुक्त गर्नुपर्नेछ।
यसलाई पहिलो चरण भनिएको छ। यो चरणमा इजरायली नागरिक मात्रै नियन्त्रणमुक्त हुने भनिएकोमा बिहीबार पाँचजना थाई नागरिकसमेत मुक्त भएपछि नेपाली विपिन पनि छिट्टै मुक्त हुने अपेक्षा छ।
इजरायल र प्यालेस्टाइनको सम्झौताअनुसार पहिलो चरणअन्तर्गत बिहीबारसम्म तीन समूहमा हमासले उसको नियन्त्रणमा रहेकालाई मुक्त गरेको छ।
१९ जनवरीमा तीनजना, २५ जनवरीमा चारजना र बिहीबार आठजना गरी १५ जनालाई मुक्त गरिसकेको छ।
१९ जनवरीदेखि लागू हुने गरी ६ साता अर्थात् फेब्रुअरीभित्र हमासले ३३ जनालाई मुक्त गर्ने प्रतिबद्धता जनाएको छ।
त्यतिन्जेल इजरायलको जेलमा रहेका करिब दुई हजार प्यालेस्टिनी नागरिक पनि मुक्त हुनेछन्। इजरायलका सञ्चारमाध्यमका अनुसार २० असोज ०८० पछि हमास समूहको नियन्त्रणमा २५१ जना रहेकोमा ३४ जनाको मृत्यु भएको छ। उनीहरूको नियन्त्रणमा ३१ जना विदेशी नागरिक छन्।
यीमध्ये विपिनसहित विदेशी नागरिक जीवित रहेको इजरायली कूटनीतिक अधिकारीले नेपाली कूटनीतिक अधिकारीलाई जानकारी दिएका छन्।
इजरायली क्षेत्रमा हमासले गरेको आक्रमणका क्रममा २० असोज ०८० मा त्यहाँ अध्ययनरत विपिन जोशीसमेत नियन्त्रणमा परेका थिए।
आक्रमणबाट अन्य १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। उक्त घटनामा हमासले २५१ जनालाई बन्धक बनाएर लगेको थियो।