के ब्राजिलियन फुटबललाई बचाउँन नेयमार ब्राजिल फर्केका छन् ?
काठमाडौ - अन्ततः नेयमारले आफ्नो फुटबल करियर सुरु गरेको क्लब सान्तोसमा फर्कने निर्णय गरेका छन्। यसले उनलाई जहाँबाट यात्रा सुरु गरेका थिए, त्यहीँ नै पुनः आफ्नो योगदान दिने अवसर प्रदान गरेको छ। नेयमारको पुनरागमनलाई फुटबल विश्लेषकहरूले विभिन्न कोणबाट हेरिरहेका छन्।
नेयमारको फुटबल करियर ब्राजिलको प्रतिष्ठित क्लब सान्तोसबाट सुरु भएको थियो। उनले आफ्नो उत्कृष्ट प्रदर्शनका कारण २०१३ मा युरोपियन जायन्ट बार्सिलोनामा स्थान बनाएका थिए। बार्सिलोनामा रहँदा उनले क्लबलाई विभिन्न उपाधिहरू दिलाए। त्यसपछि उनी पेरिस सेन्ट-जर्मेन हुँदै साउदी क्लब अल-हिलालसम्म पुगे। करिब १२ वर्षपछि पुनः आफ्नो जन्मभूमिको क्लब सान्तोसमा फर्किनुलाई धेरैले ऐतिहासिक निर्णय मानिरहेका छन्।
नेयमारको फर्किने कारणहरू
१. ब्राजिलियन फुटबलको पुनरुत्थान
हालका वर्षहरूमा ब्राजिलियन फुटबल खेलाडीहरू युवा अवस्थामै युरोपियन क्लबतर्फ आकर्षित हुने गरेका छन्। उनीहरू पैसा, अवसर, र सुविधाको लोभमा आफ्नो देशको लिग छोडेर विदेश जान्छन्। यसले ब्राजिलको घरेलु फुटबल लिगमा नकारात्मक प्रभाव पार्दै आएको छ। नेयमारको सान्तोस फर्किनुले ब्राजिलियन लिगको प्रवर्दनमा टेवा पुग्ने विश्वास गरिएको छ।
२. मौलिक खेल्ने शैलीको पुनर्स्थापना
ब्राजिलका खेलाडीहरू युरोपका प्रतिस्पर्धात्मक लिगमा सहभागी हुँदा उनीहरूको मौलिक खेल्ने शैली प्रभावित भइरहेको छ। युरोपियन लिगहरू छिटो खेल्ने शैलीमा आधारित छन्, जसका कारण ब्राजिलियन खेलाडीहरू आफ्नो परम्परागत टेक्निकल र कलात्मक शैली बिस्तारै बिर्सिंदै गएका छन्। यसको प्रभाव ब्राजिलको राष्ट्रिय टिममा देखिएको छ, जसले २००२ यता कुनै पनि विश्वकप जित्न सकेको छैन। नेयमारको फर्किनुले युवा खेलाडीहरूलाई प्रेरणा दिने सम्भावना छ।
३. विश्वकप २०२६ को चुनौती
ब्राजिलले अहिलेसम्म भएका सबै विश्वकपमा सहभागिता जनाइसकेको छ, तर हालको विश्वकप छनौट चरणमा उसले संघर्ष गर्नुपरिरहेको छ। ब्राजिल अहिले दक्षिण अमेरिकी छनौट अंक तालिकामा ५औँ स्थानमा छ। यदि उसको खराब प्रदर्शन जारी रह्यो भने प्लेअफ खेल्दै मात्र विश्वकपमा स्थान बनाउनुपर्ने अवस्था आउन सक्छ। नेयमारको अनुभव र नेतृत्वले राष्ट्रिय टिमलाई पुनः मजबुत बनाउन सहयोग गर्न सक्छ। साथै, ब्राजिललाई विश्वकप जिताउँने नेयमारको सपना पनि छ ।
४. स्वदेश फिर्ती र व्यक्तिगत सन्तुष्टि
युरोप र मध्यपूर्वमा लामो समय बिताएपछि नेयमारलाई आफ्नो देश फर्किनुपर्ने महसुस भएको हुनसक्छ। उनले आफ्नै देशको फुटबलमा योगदान गर्न चाहना व्यक्त गरेका छन्। केही पूर्व ब्राजिलियन खेलाडीहरूले पनि पछिल्लो समयमा आफ्नो करियरको अन्तिम चरणमा स्वदेश फर्कने निर्णय लिएका थिए।
ब्राजिलियन फुटबलको भविष्य
नेयमारको ब्राजिल फर्किनु केवल व्यक्तिगत निर्णय मात्र होइन, यसले सम्पूर्ण ब्राजिलियन फुटबलमा प्रभाव पार्नेछ। यदि अन्य शीर्ष खेलाडीहरूले पनि यस्तै निर्णय गरे भने ब्राजिलियन लिग फेरि पुरानै गौरवशाली अवस्थामा फर्कन सक्छ। साथै, यसले युवा खेलाडीहरूलाई पनि आफ्नै देशमा रहेर विश्वस्तरीय खेल खेल्ने अवसर प्रदान गर्नेछ।