सरकारले जारी गरेका छ वटा अध्यादेश प्रतिनिधि सभामा पेस
काठमाडौँ - सरकारले जारी गरेका विभिन्न ६ वटा अध्यादेश प्रतिनिधि सभामा पेस भएका छन् । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभा बैठकमा शुक्रबार ६ वटा अध्यादेश पेस भएका हुन् ।
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश-२०८१, निजीकरण संशोधन अध्यादेश-२०८१ र आर्थिक तथा व्यवसायीक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ पेस भएका हुन् ।
प्रधानमन्त्रीको तर्फबाट सञ्चार सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरे ।
त्यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश-२०८१, निजीकरण संशोधन अध्यादेश-२०८१ र आर्थिक तथा व्यवसायीक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ पेस गरे ।
भूमि, व्यवस्था सहकारी एवं गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ पेस गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यी अध्यादेशहरू जारी गरेको थिए । प्रतिनिधि सभामा पेस भएका यी अध्यादेशहरू आगामी २२ गते बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।