नवलपरासीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, नौ घाइते
नवलपरासी- पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को दुम्कीवास जंगलमा बस र इभि हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन् ।
विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीवासस्थित डिभिजन वन कार्यालय नजिकै यात्रु बस र इभि हाइस एकापसमा ठोक्किँदा भारतको पश्चिम बंगाल राज्यको मिधिनिपुरका ४० वर्षीय शंकरको मृत्यु भएको हो । हाइसमा सवार अन्य नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
काठमाडौँबाट दाङ जाँदै गरेको रा१ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौँ जाँदै गरेको प्र ०१-००६ ख ७८०८ नम्बरको इभि हाइस एकापसमा ठोक्किएका हुन् । हाइसमा सवार सबै यात्रु भारतको मिधिनिपुरका रहेका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।