Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यानले समाप्त गर्‍यो प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता

शनिबार, माघ १९, २०८१

काठमाडौं - दुई वर्षदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक रहेका मोन्टी देशाईलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको छ । क्यानले शनिबार सामाजिक संञ्जालमार्फत मोन्टीसँगको सम्झौता सकिएको घोषणा गरेको हो ।

यद्यपि क्यानले यसअघि नै मोन्टीसँगका दुई वर्षको सम्झौता नविकरण नगर्ने निर्णय गरेको थियो । ‘दुई वर्षको सम्झौता सकिएपछि हामी नवीकरण नगर्ने निर्णयमा पुगेका हौं । कार्यसमितिबाट यसअघि नै पास भइसकेको छ,’ क्यानका प्रवक्ता छुम्बी लामाले भने । 

मोन्टी ०७९ माघदेखि नेपाली टिमको मुख्य प्रशिक्षक थिए । यसअघि मोन्टीले सन् २०१७ मा नेपालको यू–१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका थिए । मोन्टीको आगमनसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो । 

तर, गत असारमा नेपालले दोस्रोपटक आइसिसी टी–२० विश्वकप खेलेसँगै मोन्टीलाई हटाउने चर्चा चलेको थियो । विश्वकपमा नेपालले दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्ससँग खेल्दा मात्र १ अंक जोड्यो । त्यसपछि नै मोन्टीलाई निरन्तरता दिन नहुने छलफल चलेको थियो । तर, लिग २ को मिति नजिकै भएकाले त्यससम्मलाई सम्झौता थप गरिएको क्यानका सदस्य दुर्गाराज पाठकले  बताएका थिए । 

तर, नेपाल पछिल्लो १२ मध्ये आठ खेलमा पराजित भएपछि मोन्टी दबाबमा थिए । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपाल २ खेल मात्र जितेको छ । त्यसैले आलोचना पनि हुन थालेको थियो । 

 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्