कूटनीतिमा अनुभव र सीप चाहिन्छ : रमेशनाथ पाण्डे
काठमाडौँ- पूर्वपरराष्ट्रमन्त्री एवं राजनीतिज्ञ रमेशनाथ पाण्डेले राष्ट्र र जनहितमा आधारित परराष्ट्र नीति सरकार फेरबदलसँगै परिवर्तन हुन नहुनेमा जोड दिएका छन् ।
प्रधानता मिडियाद्वारा आज आयोजित ‘नेपालको भू-राजनीति: अन्तर्राष्ट्रिय सम्बन्ध र समृद्धिका लागि कूटनीतिक पहल’ विषयक कार्यक्रममा उनले परराष्ट्र नीति अपरिवर्तनीय हुने भएकाले सत्ता र शासन फेरिँदैमा नडगमगाउने धारणा राखे ।
पूर्वमन्त्री पाण्डेले भने, “देशको परराष्ट्र नीति परिवर्तन हुँदैन तर कार्यान्वयन गर्ने क्रममा विधि र प्रक्रिया भने परिवर्तन हुन सक्छ । कूटनीतिमा अनुभव र सीप चाहिन्छ, त्यो नै महत्त्वपूर्ण विषय हो ।”
पछिल्ला वर्षमा कूटनीतिमा संस्थागत स्मरण शक्ति कमजोर भएको आरोप लगाउँदै उनले परराष्ट्र नीति देशको हुने भएकाले हाम्रो सामर्थ्यलाई बढाएर लैजानुपर्ने खाँचो औँल्याए । पूर्वसञ्चारमन्त्रीसमेत रहेका पाण्डेले भने, “पहिचान भनेको इतिहास, धर्म, संस्कृति र सोच हो, ती जोगाउनुपर्ने विषय हुन् ।”