Nic Ad Nic Ad
Nic Ad Nic Ad

एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछु: प्रचण्ड

शनिबार, माघ १९, २०८१

चितवन- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एम्बुलेन्स चालकहरूको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

आज आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपालको सातौँ वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उनले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनेसमेत बताए ।

अध्यक्ष दाहालले संघले राखेका माग कार्यान्वयनका लागि सडक र सदन दुवै ठाउँबाट सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिए । “एम्बुलेन्स चालकहरूका समस्या समाधानका लागि म मेरो तर्फबाट प्रतिबद्ध छु । यसमा सरकारको ध्यान केन्द्रित गर्न मेरो भूमिका हुनेछ”, उनले भने ।

पूर्वप्रधानमन्त्री दाहालले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको उल्लेख गर्दै अब हरेक क्षेत्रमा देखिएको बिचौलियाको प्रभाव रोक्न सबै वर्ग एकताबद्ध हुन आवश्यक रहेको धारणा राखे । उनले पार्टी मातहतका जनवर्गीय संगठनहरुलाई बलियो बनाउने नीतिअनुसार पार्टीलाई चलायमान बनाइएको बताए ।

कार्यक्रममा भरतपुर महानगरप्रमुख रेनु दाहाल, संघका कानुनी सल्लाहकार एकराज भण्डारी, चितवन मेडिकल कलेजका निर्देशकहरू डा. दयाराम लम्साल, प्रताप देवकोटा, नेसनल सिटी अस्पतालका सञ्चालक सरोज ढकाललगायतले आफ्ना धारणा राखेका थिए । संघका अध्यक्ष नवराज लामिछानेले एम्बुलेन्स चालकहरूले भोग्नुपरेका समस्याबारे जानकारी दिएका थिए ।   

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्