निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : माधव नेपाल
रौतहट- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिएका छन् ।
आज रौतहटको गौरमा नेपाल-भारत पत्रकारको साझा मञ्च मिडिया फर बोर्डर हार्मोनी रौतहटद्वारा ‘नेपाल-भारत मैत्री संवाद’ कार्यक्रममा व्यावसायिक तथा पर्यटकीय दृष्टिकोणले पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य भएको उनले बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले निजगढ-काठमाडौँमा ‘फास्ट ट्र्याक’को निमार्णका साथसाथै निजगढ विमानस्थलको निर्माण अति जरुरी रहेको आवश्यकता औँल्याए । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका पहल गरिरहेको भन्दै उनले नेपाल-भारतको सीमा समस्याबारे केन्द्रबाट समाधान गरिनुपर्ने धारणा राखे ।
स्थानीय स्तरमा दुवै देशका जनप्रतिनिधिहरूले आवश्यकताका आधारमा आ–आफ्नो तर्फबाट पहल गर्नुपर्ने भन्दै दीर्घकालीन समाधान गर्न केन्द्रीय स्तरबाट नीतिगत रूपमा समाधान गर्नुपर्नेमा अध्यक्ष नेपालले जोड दिए । सीमा समस्या समाधानका लागि जुनसुकै समयमा सहयोग गर्न तत्पर रहेको उनको भनाइ थियो । अध्यक्ष नेपालले दुवै देशका नागरिकहरूको हित हुने गरी सरकारले काम गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा मधेस प्रदेशसभाका सांसद सदस्य नागेन्द्र साह, भारतका रिगा विधान सभा क्षेत्रका विधायक मोतीलाल साह, गौर नगरपालिकाका प्रमुख शम्भु साह, बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
मिडिया फर बोर्डर हार्मोनी रौतहटका अध्यक्ष किशोरी राय यादवको अध्यक्षतामा भएको संवाद कार्यक्रममा हार्मोनी भारतका अध्यक्ष अमरेन्द्र तिवारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सीमा क्षेत्रका जिल्लाहरूमा बसोबास गर्ने नेपाल र भारतका जनताले भोग्दै आएका समस्यालाई समाधान गर्न १७ बुँदे साझा माग प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, बोर्डर हार्मोनी नेपाल र भारतका प्रतिनिधि, नेपाल र भारतका सञ्चारकर्मीसहित स्थानीयको सहभागिता थियो ।