Nic Ad Nic Ad
Nic Ad Nic Ad

सूर्यविनायक-धुलिखेल सडक विस्तारको कामको प्रगति ३० प्रतिशत मात्रै

आइतबार, माघ २०, २०८१

काठमाडौ - अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको कामले केही समय अघिदेखि मात्र गति लिएको छ।

भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी सो सडक दुई खण्डमा विभाजन गरी विस्तारको कार्य वि.सं. २०७९ पुस २४ बाट सुरु गरी ३६ महिनाभित्र सम्पन्न गर्नेगरी काम सुरु गरिए पनि अहिलेसम्म करिब ३० प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ।

सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको आयोजनाले बताएको छ ।

अहिले सो सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण अन्तिम चरणमा पुगेको छ। त्यसैगरी सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठूलो घुम्ती, तल ठूलो भिर भएकाले काम गर्न केही अप्ठ्यारो परेको छ ।

आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको यो सडकखण्डमा यस वर्ष सरकारले ५४ करोड रुपैयाँ अर्थात् सात प्रतिशतमात्रै बजेट निकासा गरेको छ। सरकारले सम्झौताअनुसार बजेट निकासा गरिदिए अझै पनि निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न सकिने आयोजनाको दाबी छ ।

 

 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्