गृहमन्त्री लेखकको गृह जिल्लाका नगर सभापतिको मृत्यु झनै शंकास्पदः मोबाइल गायब, वालेट रित्तो
महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनीको हत्या भएको परिवारले दाबी गरेको छ। परिवारको दाबीसँगै घटनाको प्रकृति र शव भएको स्थानमा उनको मोबाइल गायव छ भने वालेट रित्तो भेटिएपछि झनै शंकास्पद भएको छ।
शनिवार बिहान भीमदत्त नगरपालिका मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो।
उनी मृत भेटिएको स्थानमा सिसी टिभीको कभरेज नभएको हुँदा ९ः३३ पछिका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। घटना हुनुभन्दा केही समयअघि अस्पतालमा ग्यास्ट्रिकको औषधी लिन गएको प्रहरीले पत्तो लगाएको छ। उनको साथबाट औषधि फेला परेको छ।
धनगढीबाट चार जना सँगै आएको र मदन चोकमा उनी छुट्टिएको प्रहरीले पत्तो लगाएको छ। प्रहरी भन्छ,‘ग्यास्ट्रिकको औषधी लिएर आफ्नो घर जाँदै गर्दा घटना भएको देखिन्छ। पर्स भेटिएको छ। मोबाइल भेटिएको छैन।’
मृतक कलौनीको शरीरमा बाहिरी घाउचोट देखिएको छैन। शवको पोस्टमार्टम पछि भित्री केही कुरा थाहा हुने प्रहरीले जनाएको छ। उनको शवको पोस्टमार्टम भइरहेको छ। भेरी अस्पताल, नेपालगन्जका फरेन्सिक विज्ञहरूको टोलीले पोस्टमार्टम गरिरहेको छ।
कलौनी गृहमन्त्री रमेश लेखकको गृह जिल्ला कञ्चनपुरको भीमदत्त नगरका पार्टी सभापति भएका कारण पनि यो प्रकरणलाई प्रहरीले अझ महत्वका साथ अनुसन्धान जारी राखेको छ। लेखक पनि गृह जिल्लामा नै रहेको बुझिएको छ।
उनले निष्पक्ष रूपमा घटनाको सत्य तथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्। गृहमन्त्रीलाई भेटेका मृतक कलौनी परिवारले उनको हत्या भएको बताइरहेका छन्।