मोन्टी देसाईको बिदाई सन्देश- यो गुडबाई होइन, नेपाल मेरो टाढाको घर हो
काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक छोडेपछि मोन्टी देसाईले भावुक सन्देश दिदै यो गुडबाई नभएको बताएका छन् ।
सामाजिक सञ्जालमा सन्देस दिदै देसाईले नेपाल आफ्नो टाढाको घर भएको उल्लेख गर्दै नेपालमा क्रिकेट खेलभन्दा बढी एक भावना भएको उल्लेख गरेका छन् ।
उनले नेपालका क्रिकेट खेलाडी, क्यान, फ्यानलाई सन्देस दिदै नेपालमा क्रिकेटको जग बसेको र अब यसलाई अगाडी बढाउनुपर्ने सुझाव दिएका छन् । देसाईले नेपालमा आफ्ना दुई बर्ष अविष्मरणीय रहेको उल्लेख गर्दै भनेका छन्- 'यी दुई वर्ष अविस्मरणीय रहे, मनमोहक क्षणहरू र साझा कोसेढुङ्गाहरूले भरिएका छन् । टियु मैदानमा भएको एसिया कप छनोट, जहाँ प्रशंसकहरू रूख चढेर छाता लिएर उभिएका थिए र मुलपानीमा भएको विश्वकप छनोट, जहाँ जोशिला दर्शकले भरिएको थियो, जसले नेपालको क्रिकेटप्रतिको जोश र लगावलाई परिभाषित गर्यो ।'
देसाईले २०२३ मा उत्साह र उद्देश्यका साथ नेपाल क्रिकेटमा स्थायी प्रभाव छोड्ने कथा निर्माण गर्ने आशामा आफ्नो कार्यकाल शुरु गरेको उल्लेख गरेका छन् ।
उनले खेलाडीहरुलाई सुझाव दिदै भनेका छन्- 'तपाईं लाखौंको सपना बोक्नुहुन्छ । दृढ रहनुहोस्, वान बल ब्याटलको मानसिकतालाई अँगाल्नुहोस् र सीमाहरू पार गरिरहनुहोस् । ह्यापी ड्रेसिङ रुमको अवधारणाले सम्बन्ध, खुलापन, एकता र जवाफदेहिता सधैं तपाईंहरुको शक्ति हुनेछ ।'
फेब्रुअरीबाट देसाईको नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता सकिएसंगै उनको दुई बर्षे कार्यकाल सकिएको छ ।