Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘लाहा खेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ’

आइतबार, माघ २०, २०८१

मोरङ - झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ सालदेखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहा खेती गर्दै आएका छन् । उनले जिल्लाको गौरादह–२ मा ‘निर्मल चप्रा उद्योग’ सञ्चालन गरी वार्षिक एक सयदेखि डेढ सय मजदुरलाई लाहा बाँध्ने, खोल्ने, काट्ने र प्रशोधन गर्न रोजगारी दिएका छन् । उनले भने, ‘लाहा खेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ ।’

लाहाबाट उत्पादन हुने चप्राको माग बढेसँगै विश्वकर्माले धनकुटा, भोजपुर र तेह्रथुमका किसानलाई लाहाखेती गर्न सिकाएर खरिद गर्दै आएका छन् । वर्षमा दुई याममा उत्पादन हुने लाहा उनले वार्षिक आठ हजार किलोग्रामसम्म उत्पादन गर्दै आएका छन् । उनका अनुसार कोशी प्रदेशबाट वार्षिक २०–२५ क्विन्टलसम्म उत्पादन हुने गरेको छ ।

झापाबाट सुरु गरेको लाहाखेतीले कोशी प्रदेशका पाँच जिल्लामा रोजगारी सिर्जना सुरु गरेको पूर्व डिभिजन वन अधिकृत विष्णुलाला घिमिरेले बताए । कोशी प्रदेशको चतराको बगरबाट राजमार्ग उत्तरको जङ्गली भेग हुँदै मेचीसम्म लाहाखेतीका लागि उपयुक्त क्षेत्र भएको उनले बताए । लाहाको बीउ उत्पादन गर्न बयरको बोट उत्तम हो । एक किलो लाहा बराबर पाँच सय ग्राम चप्रा निस्किने गरेको छ ।

रङ्गीन लाहा रु सात–आठ सयमा बिक्री हुँदै आएको छ भने कुसुमी लाहा रु एक हजार प्रतिकेजी बिक्री हुने गरेको छ । विश्वकर्मामा प्रदेशभरिका लाहा खरिद गर्ने र प्रशोधन गरी चप्रा उत्पादन गर्दै आएका छन् । उक्त चप्रा पूर्वकै बजारमा अपुग रहेको विश्वकर्मा बताउँछन् । लाहाबाट चप्रा निस्किन्छ भने चप्राबाट रेजिन, गम र पप्स तीन चिज निस्किन्छ । उक्त चप्रा सुन तथा फर्निचर पसलमा जाने गरेको छ ।

लाहाखेतीका लागि धनकुटाको साँगुरीगढी गाउँपालिका र चौबीसे गाउँपालिका उर्वरभूमि रहेको मोरङ जिल्ला वन कार्यालयका प्रमुख उत्सव थापाले बताए । लाहाखेती बहुआयामिक भएकाले कोशी प्रदेश सरकारले लाहाखेती विस्तार र प्रवद्र्धन कार्यक्रम नै सुरु गरेको थापा बताउँछन् । राम्रो आम्दानी र रोजगारी सिर्जना हुने भएकाले बाँझो खेत राख्नुभन्दा लाहाखेती लगाएर आम्दानी बढाउन सामुदायिक वन र किसानलाई थापाले सल्लाह दिँदै आएको बताउँछन्।

तराई भेगको तातो हावापानी भएको क्षेत्रमा हुने, शिरिष, मौवा, वडहर, कुसुम खयर, बयरजस्ता कमलो बोक्रा भएका रुखमा यसको खेती हुने गरेको छ । लाहा एक प्रकारको कीरा हो । रङ्गीन र कुसुमी प्रजातिका कीराबाट लाहा उत्पादन हुने गर्छ । यो भाले र पोथी गरी दुई प्रजातिको हुन्छ । यस कीराले उत्पादन गरेको चोपबाट लाहा उत्पादन हुने गर्दछ । यो फिमेल लाहा कीराले गर्भधारण गर्ने बेलामा निस्किएको तरल पदार्थबाट उत्पादन हुने डम्बर विश्वकर्माले बताए ।

विश्वकर्मा सात वर्ष भारतको पश्चिम बङ्गालको लाहा कारखानामा काम गरी २०७५ सालबाट गौरादहमा लाहाको खेतीसँगै चप्रा प्रशोधन गर्दै आएका छन् । चप्रा मागअनुरुप उत्पादन नभएको र भारतबाटै आयात गर्नुपरेको विश्वकर्माले बताए । तराईका वन र बाँझो खेतमा यो खेती गरे रोजगारी र आम्दानी दुवै हुने डम्बर विश्वकर्माको भनाइ छ । प्रशस्त उत्पादन हुने क्षेत्र भए पनि किसान र सामुदायिक वनलाई यस विषयमा जानकारी नभएकाले आम्दानी गर्न नसकेको विश्वकर्मा बताउँछन् ।

विश्वकर्माले झापा गौराहदमा पाँच बिघा जमिन लिजमा लिएर लाहाखेतीसँगै प्रशोधन र खरिदबिक्री गर्दै आएका छन् ।लाहाबाट प्रशोधन गरेको चप्राबाट सुनका गहना बनाउन, फर्निचरको प्राकृतिक रङ उजिल्याउन, मेकअपका समान निर्माण गर्न, औषधिमा प्रयोग गर्न र शीलबन्दीका लागि प्रयोग हुने गर्दछ । नेपालमा प्रशस्तै उत्पादन हुने भए पनि राज्यबाट कुनै पहल नभएकाले व्यावसायिक हुनसकेको छैन । हाल कोशी प्रदेशमा लाहाखेतीलाई मोरङ जिल्ला वन कार्यालयले अभियानका रूपमा अगाडि बढाएको छ ।

जिल्ला वन कार्यालय, नेपाल पत्रकार मञ्च मोरङको आयोजनामा मोरङको पथरी शनिश्चरेमा ‘लाहाखेती प्रवद्र्घनमा मिडियाको भूमिका’ विषयक एक दिने अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । उक्त कार्यक्रममा जिल्ला वन कार्यालयका प्रमुख थापा, पूर्व डिभिजन वन प्रमुख घिमिरे र लाहाखेती गर्दै आएका विश्वकर्माले लाहाखेतीका बारेमा सहजीकरण गरेका थिए । राज्यले एउटा कार्यक्रम बनाएर यस खेतीका बारेमा प्रचारप्रसार गर्ने र सरकारी तहबाट कार्यक्रम नै बनाएर सामुदायिक वन समितिले यस्तो खेती गरेर उत्पादन गर्न सके करोडौँको आम्दानी राज्यले लिन सक्ने थियो ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार