वाग्मती-रुद्रमती दोभानबाट नकुहिने फोहर व्यवस्थापन
काठमाडौँ - काठमाडौँ महानगरपालिका-११ को संयोजनमा थापाथलीस्थित वाग्मती र रुद्रमती दोभान क्षेत्रमा सफाइ गरिएको छ । वाग्मती सफाइ महाअभियानको ६१२औँ हप्ताको सफाइ कार्यक्रम वडा नं ११ को संयोजनमा गरिएको हो ।
‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयं सेवा’ भन्ने मूल नाराका साथ भएको सफाइबाट नकुहिने एक दशमलव पाँच मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । बि.स. २०७० जेठ ५ गतेदेखि प्रत्येक साताको शनिबार वाग्मती सफाइ महाअभियान सञ्चालन हुँदै आएको छ ।
वाग्मती सफाइ महाअभियानको आजको कार्यक्रममा कामनपा–११ का वडाध्यक्ष हिरालाल तण्डुकार, वडा सदस्य दीपेश राउत, आशा श्रेष्ठ, यसोमती यशु, जीवन विज्ञान, ब्रह्मकुमारी राजयोग केन्द्र थापाथलीका दिदीबहिनीलगायतको उपस्थितिमा सफाइ भएको पनि उनले सुनाए । शनिबार उठाइएको फोहर महानगरपालिका, वातावरण व्यवस्थापन विभाग, टेकुले व्यवस्थापन गरेको छ ।