नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालका लागि ‘ब्याकफायर’ झाँक्रीः के एमाले फर्किने संकेत हो?
काठमाडौं– प्रतिपक्षी दलको मोर्चामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका निम्ति स्थायी कमिटी सदस्य समेत रहेकी नेत्री रामकुमारी झाँक्री निरन्तर ‘ब्याकफायर’ गर्ने मध्यकी एक हुन्।
सरकारको बिरोधमा नेता नेपालले बोलीरहेका छन्। तर, पार्टीको लाइनभन्दा केही माथि उठेर या ट्रयाकभन्दा पर पुगेर झाँक्रीका टिप्पणी आउने क्रम भने रोकिएका छैनन्।
विभिन्न कानुन संशोधनका लागि सत्तारुढ कांग्रेस र एमालेको सरकारले अध्यादेश जारी गरेकोमा माओवादीसहित प्रतिपक्षी दलमा रहेको एकीकृत समाजवादीले पनि बिरोध गरिरहेका छन्।
खासगरी अध्यक्ष माधवकुमार नेपालले यसमा खरो टिप्पणी गरेका बेला झाँक्रीले भने त्यसको प्रतिवाद शैलीमा प्रतिक्रिया दिएकी छन्।
झाँक्रीले अध्यादेश ल्याउँदैमा सरकारले खराब गर्यो भन्न नमिल्ने बताएकी छन्।
आइतबार एउटा संवादमा उनले अध्यादेश ल्याउने व्यवस्था संविधानमै रहेकाले यसलाई गलत ढंगले ब्याख्या गरिन नहुने बताएकी हुन्।
‘अध्यादेशको सुविधा संविधानतः सरकारलाई छ। संवैधानिक व्यवस्था नै भएको हिसाबले सरकारले आफ्नो सु्विधा प्रयोग गरेको हो। अब यो सुविधा लिन हुन्थ्यो, हुँदैन थियो, त्यसले के फरक पार्यो भन्ने कुरा चाहीँ हेर्नुपर्छ। अध्यादेश ल्याउँदैमा सरकारले खराब गर्यो भन्ने कुरा होईन। अध्यादेश के प्रयोजनको लागि ल्याइयो भन्ने पनि हो’ उनले भनिन्,‘कि यो सुविधा नै राख्न हुँदैन। अब संसद् चालु भइसकेको छ। अध्यादेशकै आधारमा सरकारको विरोध गरिहाल्न पनि हुँदैन।’
सरकारले काम गर्ने सन्दर्भमा सुविधा दिनकै लागि अध्यादेश ल्याइने उनले बताईन्। सबै चिजमा प्रतिपक्षको मोर्चा बनाएर रोइलो गर्नुको आवश्यकता नरहेको बताएकी उनले भनिन्,‘अध्यादेश ल्याएर नेकपा (एमाले) विभाजन गरेको बिर्सन हुन्न। हामीले अध्यादेश ल्याएर नेकपा (एमाले) फुटाएको हो। हामीलाई त्यतिबेला अध्यादेश चाहिएको थियो। आफूले जे कुरा गरिन्छ, अरुले त्यही कुरा गर्दा गलत भयो भन्ने कुरा त्यति राम्रो देखिँदैन।’
झाँक्री केही समयदेखि पार्टीको लाइनभन्दा फरक शैलीमा प्रस्तुत भइरहेकी छन्। खासगरी महाधिवेशनका क्रममा पनि उपाध्यक्षको उम्मेदवारी दिने क्रममा पनि उनी केही फरक शैलीमा प्रस्तुत भइन्।
त्यसअघि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि प्रशंशा गरेकी थिइन्। कतिपयले भने झाँक्री एमालेमा फर्किने तयारीमा रहेको पनि लख काटेका छन्। झाँक्रीनिकट स्रोतले भन्यो,‘हाम्रा पार्टीका कतिपय नेता एमालेमा फर्किसके यो कुनै नयाँ कुरा होइन। राजनीतिमा सम्भावना खुला छन्।’