नेदरल्यान्ड्सले दियो नेपाललाई १४१ रनको लक्ष्य
काठमाडौं - नेदरल्यान्ड्सले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा घरेलु टोली नेपाललाई एक सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालको लागि सिता राना मगरले एक्लै पाँच विकेट लिइन् ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४० रन बनायो ।
नेदरल्यान्ड्सकी कप्तान बबेट डि लिडेले ३८ बलमा चार चौका र एक छक्कासहित ४१ रन बनाइन् । हेथर सिइगेर्सले २६, ओपनर फेवे मोइकेन्बोइरले २१ रनको योगदान गरेका थिए ।
नेपालको लागि सिताराना मगरले तीन ओभरमा १२ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारिन् । मनिषा उपाध्यायले चार ओभरमा ३१ रन खर्चिएर २ विकेट लिएकी हुन् । कविता जोशी र कप्तान इन्दु बर्माले समान एक विकेट लिए । सिताले १८औं ओभरमा तीन विकेट लिन सफल भएकी थिइन् ।
नेपाल यसअघि भएको नेदरल्यान्ड्स र थाइल्यान्डविरुद्धको दुबै खेलमा पराजित भइसकेको छ । उपाधि सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाबमा नेपाल छ ।
नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रन र दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटले पराजित भएको थियो । थाइल्यान्डले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थियो ।