स्वर्गद्वारी गुठी पीडित मोही किसानले थाले काठमाडौँ केन्द्रित आन्दोलन
काठमाडौं - दाङ देउखुरीबाट आएका स्वर्गद्वारी गुठी पीडित मोही किसानले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले आजदेखि काठमाडौँको माइतीघरमा विभिन्न ३ बुँदे माग राख्दै प्रदर्शन गरेका हुन् ।
२०४५ सालदेखि जिल्ला केन्द्रित आन्दोलन गर्दा पनि न्यायपूर्ण मागको सुनुवाइ नभएको भन्दै उनीहरू कृषि औजारसहित काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका छन् ।
मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था गर्न,विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्कासित मोहीको हक पुनर्स्थापित गर्न र किसानले बुझाउनु पर्ने रैतानी वापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गरिदिन उनीहरूको माग छ ।
किसानले जोतखन गर्दै आएको जग्गाको स्वामित्व माग गर्दा नदिएपछि बाध्य भएर राज्यको ध्यानाकर्षण गराउनको लागि काठमाडौं केन्द्रित आन्दोलन गरेको संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।
गत वर्ष २०८० फागुन ७ देखि १ महिना लामो आन्दोलन दाङमा आन्दोलन गरेको थियो । सरकारसँग दुई बुँदे सम्झौता भएको एक वर्ष हुनै लाग्दा पनि सम्झौता कार्यान्वयन नगरिएको उनीहरूको भनाइ छ । पटक पटक उच्च राजनीतिक शीर्ष नेतृत्व, प्रधानमन्त्री, भूमि व्यवस्था मन्त्री, सरकारका अन्यमन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू र सांसद र सम्बन्धित सरोकारवालाहरू सबैलाई भेटेर गुनासो सुनाए पनि बाचा पूरा नभएको भन्दै उनीहरूले तीन बुँदे माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् ।
स्वर्गद्वारी गुठीको मोही दाङ जिल्लामा १२ मौजा (गाउँ) मा ३ हजार ५ परिवारका करिव १६ हजार जनसङ्ख्या बसोबास छ। कुल १ हजार ५० बिघा जमिन गुठीअन्तर्गत छ ।
किसानले खेतीपाती गर्दै बसोबाससमेत गर्दै आएको जग्गाको स्वामित्व भने स्वर्गद्वारी गुठीको नाममा रहेको छ । पीडितहरूसँग भएको मोहियानी पुर्जा २०६२ चैत १४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरी खारेजी गरिएको थियो ।
जग्गा जोतखन, स्याहार, संरक्षण र माया गर्ने किसानहरूले स्वामित्व नपाउँदा अन्यायमा परेको उनीहरूले गुनासो गरेका छन् ।