भ्रष्टाचारको आरोपमा प्रधानाध्यापकसहित ३ जनाविरुद्ध आरोप पत्र दायर
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निमार्ण गर्ने भन्दै भ्रष्टाचार गरेको आरोपमा तीन जनाविरुद्ध आरोप पत्र दायर गरेको छ ।
नवलपरासीको (ब.सु.प.), राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल, विद्यालय सहायक (लेखापाल) सुरेश गुप्तासहित ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा आरोप पत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारले भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।
आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सेवाग्राहीबाट पैसठ्ठी हजार रुपैयाँ घुस/रिसवत लिइरहेको अवस्थामा उक्त रकमसहित उनीहरूलाई नियन्त्रणमा लिइएको घिमिरेले बताए ।
अनुसन्धानको सिलसिलामा उक्त विद्यालयका प्रधानाध्यापक कण्डेल, विद्यालय सहायक (लेखापाल) गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य कहारसमेतको मिलेमतोमा भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग पैसठ्ठी हजार रुपैयाँ घुस/रिसवत माग गरी लिएको पुष्टि भएकोले बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई आइतबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।