Nic Ad Nic Ad
Nic Ad Nic Ad

उमागौरी सहकारीका अध्यक्ष कारागार चलान

आइतबार, माघ २०, २०८१

मोरङ- जिल्ला अदालत मोरङले सहकारीको रकम हिनामिनाका आरोपित शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

रौनियार मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष हुन् । न्यायाधीश अरुणकुमार झाको इजलासले आज (आइतबार) रौनियारलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार आदेश लगत्तै रौनियारलाई कारागार चलान गरिएको छ ।

बचतकर्ताले जम्मा गरेको रकम अपचलनमा मुछिएपछि सहकारीको कार्यालय बन्द गरेर फरार भए उनी यही माघ १४ गते अदालतमा हाजिर भएका थिए । अदालतमा उनको बयान लिन तीन दिन समय लागेको थियो । बीचमा शनिबारसहित ३ दिन बिदा पर्‍यो । रौनियारको बयान गत शुक्रबार सकिएको हो । अदालत हाजिर भएयता उनी जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा थिए । रौनियारविरुद्ध दर्ता भएको मुद्दामा आइतबार वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस सकिसँगै थुनामा पठाउन आदेश भएको सूचना अधिकारी बुढाथोकीको भनाइ छ ।

रौनियारसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारीको रकम अपचलन मुद्दा मंसिर २७ गते अदालतमा दर्ता भएको थियो । मुद्दामा सहकारीका अध्यक्ष रौनियारसहित संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला, रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलगायत प्रतिवादी छन् ।

हिनामिना भएको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो । मुद्दाको अनुसन्धानका क्रममा पूर्ववडाध्यक्ष चौधरी मात्रै पक्राउ परेका थिए । उनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । आदेशलगत्तै उनलाई कारागार चलान गरियो। गत पुस २४ गते अदालतमा उपस्थित भएकी अञ्जला अदालतले धरौटीबापत माग गरेको १० लाख रुपैयाँ बुझाएर छुटेकी थिइन् । वडाध्यक्ष खवास ५ लाख धरौटी बुझाएर छुटेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्