Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाथीभरामा नो केबलकार अभियानः पक्राउ परेका अभियन्ता रिहा नगरे राति पनि आन्दोलन चर्काउने चेतावनी

आइतबार, माघ २०, २०८१

बिर्तामोड - ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका अभियन्ता रिहा गर्न आन्दोलित समूहले माग गरेको छ ।

आन्दोलित समूह मुकुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिका संयोजक डकेन्द्र सिंह लिम्बुले पक्राउ परेका आफ्ना १० जना अभियन्ताहरू रिहा नगरे अहिले रोकिएको बन्दको कार्यक्रम पुनः सुरु गरिने बताए । 

उनका अनुसार अरुण पूर्वको ९ जिल्ला बन्दको दुई दिने कार्यक्रमको पहिलो दिन आज सुनसरीको धरान र झापामा गरी १४ जना अभियान्तालाई प्रहरीले पक्राउ गरेको छ ।

‘बन्दको पहिलो दिन छिटफुट बाहेक शान्तसँग कार्यक्रम भएको छ,’ लिम्बुले सिधाकुरासँग भने, ‘तर, पनि प्रशासनले हाम्रा १४ जना साथीहरूलाई धरपकड गरेको छ । झापा र सुनसरीका प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको छ । हाम्रो साथीहरू नछोडे पुनः अहिल्यै आन्दोलनका कार्यक्रम सुरु गर्छौँ ।’

झापाबाट प्रकाउ पर्नेहरुमा प्रकाश लाबुंग, नामसाहांग लिम्बू, सन्गेश लिम्बू, सुकविर लिम्बू, आदित्य फियाक, धन कुमार लिम्बू, पदम बेघा र संजय ताजपुरीया रहेका छन् । 

जिल्ला प्रशासन र प्रहरीले आफूहरूलाई सडकको मोर्चा छोडे मात्रै पक्राउ गरेकाहरू रिहाई गर्ने शर्त राखेको पनि संयोजक लिम्बुले बताए । 

व्यवसायी चन्द्र प्रसाद ढकालको कम्पनी आइएमई ग्रुप अन्तर्रगतको भगिनी कम्पनी पाथिभरा दर्शन केबलकार प्रालिले पाथिभरामा केबलकार परियोजना अघि बढाउन काम सुरु गरेको छ । सोको विरोधमा भएको प्रर्दशनमा गत साता प्रहरीले केबलकार निर्माण भइरहेको काफ्लेपाटी क्षेत्रमा स्थानीयमाथि गोली प्रहार गरेको थियो  । 

यस्तै, आन्दोलनको नेतृत्व गरेको भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले २ जना अभियन्तालाई पक्राउ गरेको छ । विरोधका बावजुत केबलकार निर्माण कार्य नरोकिएपछि स्थानीयहरु संगठित रुपमा चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्