Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्रम्पका सल्लाहकार एलन मस्क निरन्तर यूएसएडमाथि आक्रोशितः राक्षसदेखि आपराधिक संस्थासम्म भने

सोमबार, माघ २१, २०८१

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका सल्लाहकार तथा विश्वका सबैभन्दा धनी एलन मस्क अमेरिकी सहायता कोष यूएसएडमाथि निरन्तर खनिएका छन्। 

उनले कडा कटाक्ष गरेका छन्। मस्कले सामाजिक सञ्जाल एक्समार्फत यूएसएडको हुर्मत लिएका हुन्। एक्स उनको स्वामित्वको सामाजिक सञ्जाल हो।

मस्कले कोभिड–१९ जस्तो जैविक हतियारको खोजमा यूएसएडले लगानी गरेको र त्यसकै कारण लाखौंको ज्यान गएको दाबी गरेका छन्।

त्यस्तै यूएसएडलाई उग्र वापमन्थी माक्सवादीहरूको संस्था भन्दै मस्कले उनीहरूले अमेरिकालाई घृणा गर्ने बताएका छन्। मस्कले यूएसएडलाई राक्षसको पनि उपमा दिएका छन्।

यूएसएडलाई आफ्नो प्रोपोगाण्डा मिडियामा दिन पैसा दिने संस्थाको रूपमा आरोपित गरेका छन्। मस्कले भनेका छन्, ‘यूएसएड आपराधिक संस्था हो। यसले मर्ने समय आएको छ।’

यूएसएडमार्फत विश्वभर हुने सहायतामा ट्रम्प प्रशासनले अस्थायी रोक लगाउने निर्णयपछि मस्कको प्रहार विवादीत बनेको छ। यूएसएडमार्फत विश्वभरीका मुलुकझैं नेपालमा पनि सहायताका कार्यक्रम चल्ने गरेका थिए। 

लगानी रोकसँगै यूएसएडले एक विज्ञप्ति जारी गरी तत्कालका लागि कार्यक्रमहरु स्थगित गरेको जनाएको थियो। 

यूएसएड अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य एजेन्सी हो। यो एक अमेरिकी सरकारी एजेन्सी हो जुन संसारभरि नागरिक विदेशी सहायता र विकास सहायता व्यवस्थापन गर्न जिम्मेवार छ। 

राष्ट्रपति जोन एफ केनेडीद्वारा १९६१ मा स्थापित, यो संस्था आर्थिक विकासको प्रवद्र्धन, स्वास्थ्य र शिक्षा सुधार गर्न, लोकतान्त्रिक शासन बलियो बनाउन, र संकट को समयमा मानवीय सहायता प्रदान गर्न काम गर्दछ।

प्राकृतिक प्रकोप, द्वन्द्व र मानवीय संकटको समयमा आपतकालीन सहायता प्रदान गर्दै आएको संस्थाले एचआईभी एड्स, मलेरिया र क्षयरोग जस्ता रोगहरूसँग लड्ने, र मातृ र बाल स्वास्थ्य सुधार गर्ने कार्यक्रममा लगानी गर्दै आएको थियो।

गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्दै, विशेष गरी केटीहरू र सीमान्तकृत समुदायहरूका लागि यसले कार्यक्रम प्रदान गर्दै आएको थियो।
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्