Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘नो केबलकार’ पक्षले पनि बनायो वार्ता समिति

सोमबार, माघ २१, २०८१

काठमाडौं- ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेका आन्दोलनकारीहरूले पनि सरकारसँग वार्ता गर्न समिति गठन गरेका छन् ।

सरकारले आइतबार गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेपछि आन्दोलनकारीका तर्फबाट ‘मुक्कुमलुङ संरक्षक संस्थाका तर्फबाट वार्ता समिति गठन गरेको विज्ञप्तिमार्फत् जानकारी दिइएको छ ।

अमर तुम्याहाङको संयोजकत्वमा गठित वार्ता टोलीमा राम मादेन, सरु सिंघक र शंकर सुब्बा सदस्य छन् । पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विवाद र आन्दोलन चर्किएको छ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबलकार निर्माणको काम अघि बढेपछि त्यसको विरोधमा उत्रिएको ‘नो केबलकार’ समूह र प्रहरीबीच अघिल्लो शनिबार भएको झडपमा प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।

झडपका क्रममा गोली लागेका दुई आन्दोलनकारीसहित तीन जनालाई आइतबार विराटनगर विमानस्थलबाट नेपाली सेनाको स्काई ट्रकमार्फत् थप उपचारका लागि काठमाडौं लगिएको थियो । गएको शनिबार बेलुका ६ बजेपछि भएको झडपमा कम्तीमा १९ प्रहरी घाइते भएका थिए ।

उक्त घटनामा तेह्रथुमको म्याङलुङ बजारका ३६ वर्षीय यामबहादुर लिम्बूको तिघ्रा र पाँचथरको मिक्लाजुङका १८ वर्षीय सगुन लावतीको कुममा प्रहरीले चलाएको गोली लागेको थियो । झडपका क्रममा भिरबाट लडेका ताप्लेजुङ बस्ने धर्म पालुङ्वाको कुम (ब्यूटी बोन) मा चोट लागेका कारण उनी पनि गम्भीर छन् ।

सोही घटनाको विरोधमा आन्दोलनरत विभिन्न संघसंस्थाहरूले मेची राजमार्ग र तमोर करिडोरको सडकमा अनिश्चितकालका लागि यातायात बन्दको घोषणा गरेका छन् । वार्ताबाट शान्तिपूर्ण समाधान निकाल्न तयार रहेको बताए पनि समितिले बन्द फिर्ता भने लिएको छैन ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्