नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार लागिरहेको छ : उपप्रधानमन्त्री सिंह
ढोरपाटन (बागलुङ) – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउनतर्फ केन्द्रीत भएर लागेको बताएका छन्।
जिल्लाको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले संसद्का दुई ठूला दल मिलेर बनेको सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
मुलुकमा राजनीतिक अस्थिरताका कारण विकासले गति लिन नसकेको भन्दै उपप्रधानमन्त्री सिंहले हाल स्थायी प्रकृतिको सरकार बनेपछि लामो समयदेखि रोकिएका काम अगाडि बढेका बताए।
“सरकारका विषयमा विभिन्न व्यक्तिहरूले नकारात्मक टीकाटिप्पणी गरे पनि पछिल्लो समय देशभर आशा जगाउने गरी काम अगाडि बढिरहेका छन्। मेरो नेतृत्वको सहरी विकास मन्त्रालयले पनि देशभर सुरक्षित र व्यवस्थित सहर बनाउने गरी काम गरिरहेको छ। यस कारण जसले जे भने पनि अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म अगाडिठ बढ्छ”, उनले भने।
उपप्रधानमन्त्री सिंहले जनताको नजिक रहेको स्थानीय सरकारका समस्या समाधान गर्न माथिल्लो तहका सरकारबीच सहकार्य जरूरी रहेको धारण राखे। “तीनै तहका सरकार जनताको समस्या समाधान गरी समृद्ध मुलुक निर्माणका लागि बनेका हुन्। अब एकताबद्ध र सहकार्यको भावनाका साथ जनताको पक्षमा काम गर्न जुटौँ। त्यसका लागि केन्द्रीय सरकार प्रतिबद्ध छ”, उनको भनाइ थियो।