विपिनको रिहाइमा पहल गर्न राष्ट्रिय सभा अध्यक्ष दाहालको आग्रह
काठमाडौँ - इजरायलसँग युद्धविराम सम्झौता भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई मुक्त गर्दै गएको छ । सम्झौताको पहिलो चरणमा मुक्त गरिने भनिएका ३३ बन्दीको सूचीमा नेपाली युवा विपिन जोशीको नाम छैन । तर, उनलाई मुक्त गर्न सबै पक्षले पहल गरिरहेका छन् ।
यसबीच, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका छन् ।
सोमबार शिष्टाचार भेटका लागि आएका नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससँग उनले जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् । भेटमा उनले इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षा र रोजगारीका विषयमा ध्यान दिन पनि आग्रह गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार सिंहदरवारमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।
जवाफमा राजदूत श्मुलिकले हमासको नियन्त्रणमा रहेका नेपाली युवा जोशीलाई छुटाउन इजरायलले निरन्तर पहल गरिरहेको जानकारी गराएका थिए । उनले विपिनका बुवालगायत परिवारका सदस्यहरूसँग सोमबार मात्र भेट भएको भन्दै उनले आवश्यक पहल भइरहेको बताएका थिए ।
७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि हमासले दुई सय ५० भन्दा बढीलाई नियन्त्रणमा लिएको थियो । त्यसयता विपिनको अवस्था अज्ञात छ । इजरायल-हमासबीच युद्धविराम भएपछि अहिले धमाधम बन्दीहरू रिहाइ भइरहेका छन् ।