सुदूरपश्चिममा डेढ लाख भन्दा बढी किशोरीलाई एचपिभी खोप दिइँदै
डोटी- भोली देखि सञ्चालन हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान अन्तरगत सुदूरपश्चिम प्रदेशमा १ लाख ५१ हजार २ सय ९१ जना किशोरीहरूलाई खोप लगाइने भएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका सबै किशोरीहरूलाई विद्यालयमा र अन्य विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई स्वास्थ्य संस्था, विद्यालय र अन्य स्थानहरूमा खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय दिपायलका जन स्वास्थ्य निरीक्षक एवं खोप कार्यक्रम संयोजक मीन राज जोशीले बताएका छन् ।
भोली देखि सञ्चालन हुने खोप अभियान अछाममा यही महिनाको २६ गते, कैलालीमा फागुन ४,दार्चुलामा यही २८, बैतडीमा फागुन १, डडेलधुरामा यही २७, डोटीमा यही २८, बाजुरामा यही २८, बझाङमा यही २६ र कञ्चनपुरमा यही महिनाको २९ गते सम्म सञ्चालन हुने कार्यक्रम रहेको जन स्वास्थ्य निरीक्षक एवं खोप संयोजक जोशीले बताए
सुदूरपश्चिम प्रदेशको जिल्ला गत तथ्यांक हेर्दा अछाम जिल्लामा विद्यालय जाने किशोरी १३ हजार ६ सय ७३ र नजाने २ सय ४८ गरी १३ हजार ९ सय २१ जना, कैलाली जिल्लामा विद्यालय जाने किशोरी ४७ हजार ३ सय २६ र नजाने ३ हजार २ सय ८७ गरी ५० हजार ६ सय १३ जना, दार्चुला जिल्लामा विद्यालय जाने किशोरी ७ हजार २ सय ६२ र नजाने २९ गरी ७ हजार २ सय ९१ जना, बैतडी जिल्लामा विद्यालय जाने किशोरी १३ हजार २ सय ६३ र नजाने ३ सय १ गरी १३ हजार ५ सय ६४ जना, डडेलधुरा जिल्लामा विद्यालय जाने किशोरी ६ हजार ९ सय ६२ र नजाने २४गरी ६ हजार ९ सय ८६ जना, डोटी जिल्लामा विद्यालय जाने किशोरी १० हजार ९ सय १ र नजाने ५ सय ८६ गरी ११ हजार ४ सय ८७ जना, बाजुरा जिल्लामा विद्यालय जाने किशोरी ७ हजार ८ सय ६० र नजाने ३४ गरी ७ हजार ८ सय ९४ जना, बझाङ जिल्लामा विद्यालय जाने किशोरी ११ हजार ८ सय ३५ र नजाने २ सय गरी १२ हजार ५ सय र कञ्चनपुर जिल्लामा विद्यालय जाने किशोरी २६ हजार ८ सय १२ र नजाने ६ सय ८८ गरी २७ हजार ५ सय रहेको जन स्वास्थ्य निरीक्षक जोशीले बताए ।
खोप लगाउनका लागि प्रदेशभरका २ हजार १४ विद्यालय र ८ सय ३९ अन्य स्थान गरी जम्मा २ हजार ८ सय ५३ वटा खोप केन्द्र रहेको जनाइएको छ । अभियानका लागि प्रदेशभर २ हजार ८ सय ७ जना स्वास्थ्यकर्मी र ५ हजार ५ सय ९८ जना स्वयंसेवक परिचालन गरिने कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ ।