चितवनमा सहकारी ठगीमा मात्रै रविविरुद्ध मुद्दा दर्ता, १५ व्यक्ति र ६ संस्थालाई के अभियोग लगाइयो?
काठमाडौं– जिल्ला अदालत चितवनमा रास्वपा सभापतिसहित १५ व्यक्ति र ६ वटा संस्थालाई सहकारी ठगी र संगठीत अपराधमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मंगलबार अदालतमा मुद्दा दायर गरेको हो। साहारा चितवन बहुद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा मुद्दा दायर भएको हो।
रास्वपा सभापति रवि लामिछानेलाई भने सहकारी ठगीमा मात्र कसुरदार रहेको जिकीर गरिएको छ। संगठीत अपराध लगाइएको छैन।
प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ।
सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ।
यसअघि रवि लामिछाने विभिन्न जिल्लाका सहकारीको मुद्दाबाट धरौटी रकममा छुटेका थिए । सुरुमा कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, त्यसपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६० लाख र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौटी बुझाएर उनी छुटेका हुन्।