६ महिनामा ४६७ विदेशीले लिए श्रम स्वीकृति
काठमाडौँ- नेपालमा काम गर्ने उद्देश्यले पछिल्लो ६ महिना ४ सय ६७ विदेशीले नयाँ श्रम स्वीकृति लिएको पाइएको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिना (साउन-पुस) अवधिमा ती विदेशीले नयाँ श्रम स्वीकृति लिएका हुन् ।
गत पुसमा मात्र ७० विदेशीले श्रम स्वीकृति लिएका थिए । यस अवधिमा ७ सय २२ विदेशीले श्रम स्वीकृति नवीकरण गरेका छन् । यस अनुसार पुस मसान्तसम्म कुल १ हजार १ सय ८९ जना विदेशीले श्रम स्वीकृति लिएर काम गरिरहेको देखिएको छ ।
नेपालमा भारतीय बाहेक तेस्रो देशका नागरिकले बढी श्रम स्वीकृति लिने गरेको पाइएको छ । पछिल्लो ६ महिनामा प्रतिष्ठानहरूमा विदेशी श्रमिकले श्रम स्वीकृति लिए/नलिएको बारे २१ पटक अनुगमन भएको विभागले जनाएको छ ।
नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या मासिक औसत साढे ६५ हजार हाराहारी छ ।
पुससम्म ३ लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएका छन् । यसको तुलनामा नेपालमा काम खोज्दै आउने विदेशीको संख्या थोरै भए पनि श्रम स्वीकृति लिएर काम गर्नेले नेपालमा गुणस्तरीय जागिर पाइरहेका हुन्छन् ।
विदेशी लगानीका ठूला परियोजना, होटेल तथा आतिथ्य उद्योग, पाइलट सहितका क्षेत्रमा विदेशी नागरिकले राम्रो जागिर पाइरहेका छन् ।