बागमतीका दायाँवायाँ सार्वजनिक जग्गामा बनेका अवैध संरचना ७ दिनभित्र हटाउन प्राधिकरणको सूचना, अन्यथा कारवाही गर्ने
काठमाडौं - काठमाडौंको बागमती खोलाको दायाँबायाँ सार्वजनिक जग्गामा बनेका संरचना सात दिनभित्र हटाउन काठमाडौं उपत्यका विकास प्राधिकरणले सूचना टाँसेको छ । मंगलवार प्राधिकरणले बागमती करिडोरका विभिन्न स्थानमा यस्तो सूचना टाँसेको छ ।
‘बागमती खोलाको दायँबायाँ क्षेत्रभित्रका सरकारी वा सार्वजनिक जग्गामा मापदण्ड विपरित निर्मित घर, टहरा र अन्य अवैध संरचना सात दिनभित्र हटाउन वा खाली गर्नुहुन जानकारी गराइन्छ,’ प्राधिकरणले बागमती किनारामा टाँसेको सूचनामा उल्लेख छ । खोला आसपासका सरकारी, सार्वजनिक जग्गामा बनेका संरचना एक साताभित्र नहटाए प्राधिकरण ऐन बमोजिम कारवाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।
अहिले प्राधिकरणले काठमाडौंमा मिचिएका सरकारी, सार्वजनिक जग्गाको खोजिनिति थालेको छ । सरकारी, सार्वजनिक जग्गामा निजी आवासदेखि व्यवसायीक संरचनासमेत बनेको भेटिएपछि त्यसलाई खाली गरी सरकारको नाममा ल्याउने अभियान प्राधिकरणले थालेको छ । बागमती किनाराका ठूलो मात्रामा जग्गा व्यक्ति र समूहहरूले हडपेका छन् ।