Nic Ad Nic Ad
Nic Ad Nic Ad

४० बर्षका भए रोनाल्डो

बुधबार, माघ २३, २०८१

काठमाडौँ - फुटबलर क्रिस्टियानो रोनाल्डो ४० बर्षका भएका छन् । फेब्रुअरी ५, १९८५ मा पोर्चुगलको माडेरियामा जन्मिएका रोनाल्डो ४० बर्षको उमेरमा पनि फुटबलमा उत्तिकै सक्रिय र सफल रहेका छन् ।

हाल साउदी प्रो लिग क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डो अहिले हरेक दिन मिडिया र सामाजिक सञ्जालको प्रमुख विषय रहेका छन् । 

आफ्नो फुटबल क्यारियरमा अहिलेसम्म ९२३ गोल गरेका रोनाल्डोले एक हजार गोल गर्ने लक्ष्य राखेका छन् । 

आफ्नो जन्मदिनको केहिदिन अघि रोनाल्डोले दिएको एक अन्तर्वार्तामा आफुलाई विश्वको महान खेलाडीको सूचीमा राखेका छन् ।  रोनाल्डोले आफुलाई पूर्ण फुटबल खेलाडी भनेका छन् । उनले भनेका छन्- 'म हेड राम्रोसँग गर्न सक्छु, फ्री-किक राम्रोसँग हान्न सक्छु, म बलियो छु, म जम्प गर्न सक्छु, मैले म भन्दा राम्रो र पूर्ण खेलाडी देखेको छैन ।'

रोनाल्डोको नाममा कैयौं किर्तिमान रहेका छन् जुन शायदै कसैले तोड्न सक्छ ।  रोनाल्डो अन्तराष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् ।  उनले २३५ अन्तर्राष्ट्रिय खेलमा १३५ गोल गरेका छन् । 

त्यस्तै रोनाल्डोले अल नासरमा अहिलेसम्म ९५ खेलमा कुल ८७ गोल गरेका छन् ।  यस सिजनमा उनले अल नासरका लागि अहिलेसम्म २५ खेलमा २३ गोल गरिसकेका छन् । 

यसअघि म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टस जस्ता क्लबबाट खेलेका रोनाल्डोले कैयौं उपाधि जितेका छन् । उनी रियल म्याड्रिडमा ४३८ खेलमा ४५० गोल गर्दै अहिलेसम्म रियलका महान खेलाडी रहेका छन् । 
त्यस्तै युभेन्टसमा १३४ खेलमा १०१ गोल गरेका रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा दुई पटक गरेर ३३६ खेलमा १४५ गोल गरेका छन् । 

रोनाल्डोले रियल म्याड्रिडका लागि कीर्तिमानी १६ उपाधि जितेका थिए भने म्यानचेस्टर युनाइटेडका लागि तीन लिग उपाधि सहित ९ उपाधि जितेका थिए ।  त्यस्तै युभेन्टसका लागि दुई लिग उपाधिसहित ५ उपाधि जितेका छन् भने अल नासरमा एक उपाधि जितेका छन् । 

त्यस्तै आफ्नो राष्ट्रिय टिम पोर्चुगलका लागि रोनाल्डोले २०१६ को युरोकप जितेका थिए भने २०१८-१९ सिजनको युइएफए नेसन्स कप जितेका थिए ।

४० बर्षको उमेरमा पनि उत्तिकै आत्मविश्वास र फिटनेससहित फुटबलमा सक्रिय रोनाल्डोले अझै केहि बर्ष सक्रिय फुटबल खेल्ने उनको अहिलेको सक्रियताबाट सजिलै बुझ्न सकिन्छ ।  

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्