मिर्गौला तस्करीको कारुणिक कथाः पतिले लिएको ऋण तिर्न भारतमा बेचिन्, दाजुको बचाउने हुँदा आफ्नै गुमाए
काठमाडौं– नेपालबाट भारतमा पुगेर मिर्गौला बेच्ने, तस्करी गर्ने काम ब्यापक रुपमा भएको थियो। यस्ता खबर बाहिर आएपछि प्रहरीले निगरानी राखेर तस्करीलाई न्यूनिकरण गर्न खोजे पनि फेरि मौलाउन थालेको बताइन्छ।
काभ्रे जिल्लामा तस्करीका अनौठा घटनाका दुई कथासहित गाउँकै व्यथा पनि छ।
दलालले मिर्गौला बेच्न महिलालाई श्रीमती भएको कागज बनाउने र काठमाडौँमा रगत जाँचेर घुम्ने बहानामा महिलालाई भारत लगेर मिर्गौलाको तस्करी भइरहेको स्थानीयवासीले जनाएका थिए।
उनीहरुले भनेका थिए, ‘दलालले ठूलो कमिसन पाउने भएकाले गाउँका विपन्न वर्ग र ऋणमा डुबेकालाई फकाएर लैजाने गरेको पाइएको छ।’
जिल्लाको मेथिनकोटकी एक ३५ वर्षकी गृहिणीले भारतमा गएर आफ्नो एउटा मिर्गाैला तीन लाख ७५ हजारमा बेचेर आइन्। दुई सन्तानकी आमा उनले वैदेशिक रोजगारका क्रममा मलेसियामा पतिको मृत्यु भएपछि ऋण तिर्न मिर्गौला बेचेकी बताएकी थिइन्।
‘चार लाख ऋण थियो, खेतबारीबाट आम्दानी छैन, तिर्ने उपाय नभएपछि बेचेकी हुँ’, उनले भनेकी थिइन्।
पति विदेश जाँदा र त्यसपछि लागेको ऋण तिर्न आफ्नो शरीरको संवेदनशील अङ्ग बेचेको उनले निर्धक्क बताइन्। उनको मिर्गौला निकाल्दा चिरेको पेटमा प्लास्टिक सर्जरी गरी पठाएकाले उनलाई कसैले शङ्का गर्ने ठाउँ पनि छैन।
फूलबारीका तीनजना युवाले एकैसाथ मिर्गौला बेचेर फर्किएका थिए।
उनीहरुले जनही दुई लाख पाएका थिए। ती युवाको पनि मिर्गौला निकाल्दा चिरेको पेटमा प्लास्टिक सर्जरी गरिएको थियो।
मिर्गौला बेचेर आएपछि शरीरमा ठूलो घाउ–खत हुँदा परिवार र छिमेकीसँग लुकेर नुहाउनुपर्ने बाध्यता हट्ने भएपछि विपन्न वर्गका मानिसले मिर्गौला बेच्न हौसिएको पाइएको छ। होक्सेस्थित एक ठकुरी परिवारका सातजनाले मिर्गौला बेचेपछि गाउँ नै छाडेका थिए।
केही वर्षअघि ‘बैंक अफ किड्नी’ भनेर देश–विदेशमा प्रचारमा ल्याइएको काभ्रेमा २० वर्षअघिदेखि मिर्गौला बेचबिखन भएको पाइएको छ।
सुरुमा काभ्रेको तत्कालिन होक्से र ज्याम्दी गाविसका करिब १०८ जनाले मात्रै मिर्गौला बेचेको अनुमानित तथ्याङ्क छ तर अहिले त्यसबाट जिल्लाका १० गाविस प्रभावित भएको अनुमान छ।
पिपिआरको हालसम्मको अनुगमनमा होक्सेमा ११२ जना, पाँचखालमा १०२ जना र ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गौला बेचेको तथ्याङ्कमा समेत फेला परेको थियो।
उजुरीपछि २०७० वैशाखमा मिर्गौला तस्करीमा संलग्न १० जनालाई जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकले पक्रेपछि यहाँबाट केही समय मिर्गौला तस्करी रोकिएको थियो।
मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ अन्तर्गत १० वर्ष कैद र रु दुई लाखदेखि रु पाँच लाखसम्म जरिवाना सजाय हुन्छ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानुनी व्यवस्था छ।
काभ्रेको अर्को कथा पनि अचम्म लाग्दो थियो।
आफ्ना दाइको मिर्गौला बेच्ने तस्करहरूबारे सूचना खोज्ने क्रममा उनीहरूकै जालोमा परेर काभ्रेको बनेपा–५ का २८ वर्षीय युवाले आफ्नो मिर्गौलासमेत गुमाएका थिए।
दीपक श्रेष्ठको नाममा नक्कली नागरिकतालगायत कागजात बनाइदिएर उनको मिर्गौला काठमाडौंकी एक महिलालार्ई दिइएको थियो।
भारतको कोलकातामा मिर्गौला प्रत्यारोपण भएको थियो। प्रहरीले भुम्लुका ३५ वर्षीय राजकुमार भनिने कुमार परियार, उनकै भाइ ३३ वर्षीय देवराज भनिने सुरेश परियार र पाँचखालका ३१ वर्षीय कुमार परियारलाई पक्राउ गरेको थियो।
उनीहरूले विभिन्न प्रलोभनमा पारेर गिरोहमार्फत पीडितलाई भारतका विभिन्न अस्पताल लैजाने काम गर्दै आएका थिए। पक्राउ परेकामध्ये २ जना आफैंले आफ्नो मिर्गौला बेचबिखन गरेका थिए।
२०७२ सालको भूकम्पअघि आफ्ना दाजुले मिर्गौला बेचेको थाहा पाएपछि २८ वर्षीय ती युवाले गिरोहलाई कारबाही गराउने योजना बनाएको दाबी गरेका थिए।
सिन्धुपाल्चोकको इर्खु भन्ज्याङमा ५ वर्ष गोठालोको काम गरेपछि उनले केही समय इँट्टाभट्टामा मजदुरी गरे। त्यही बेला उनी आफ्नै चासोले तस्करको सम्पर्कमा पुगेका थिए।
‘खोज्दै जाँदा उनीहरू सम्पर्कमा आए, उनीहरूको सबै कुरा बुझेर कारबाही गराउँछु भन्ने सोचले उनीहरूले भनेको मान्दै गएँ,’ ती युवाले भनेका थिए, ‘तर पछि उनीहरूले धम्की पनि दिए, पैसाको लोभ पनि देखाए। पाँच लाख रुपैयाँ आउँछ भनेपछि मेरो मनमा लोभ पनि पलायो।’
गर्भवती श्रीमती छोडेर भारत गएका उनको अवस्थाबारे पत्नीलाई समेत जानकारी थिएन।
भक्तपुरको एक निजी ल्याबमा उनको रक्त समूह परीक्षण गरिएको थियो । परीक्षणपछि कलंकीबाट गाडी चढाएर उनलाई सीमा कटाएका थिए।
‘खासमा किड्नी बेच्न मलाई मन थिएन, त्यसैले भाग्न पनि कोसिस गरें तर त्यो अन्जान सहरमा उनीहरूको गिरोहको चंगुलबाट कसरी उम्कने ?,’ उनले भनेका थिए। विवादबीच चार दिन भोकै परेको पनि उनले सुनाएका थिए।
कोलकातास्थित एएमआरआई अस्पतालमा शल्यक्रिया भएपछि उनलाई ६ दिन अस्पताल राखियो।
त्यसपछि ३ महिना उतै राखियो। गाउँ फर्किएपछि उनले प्रहरीलाई उजुरी गरेका हुन्, यद्यपि गाउँ फर्किएको केही समयमा सुरेश र कुमारले उनलाई दुई किस्तामा गरी ५ लाख दिएका थिए।
‘दाजुको मिर्गौला बेचबिखन गर्ने पत्ता लगाउन खोज्दा म पनि फसें । अरू कोही फस्न नपरून् भनेर मैले उजुरी गरेको हुँ,’ उनले भनेका थिए।
नेपालमा मिर्गौला तस्करी एक गम्भीर र बढ्दो समस्या बन्दै गएको छ। आर्थिक अभाव, अशिक्षा, र कमजोर कानूनी कार्यान्वयनका कारण यो अपराधले व्यापकता पाइरहेको छ। मिर्गौला तस्करी केवल व्यक्तिको स्वास्थ्य र जीवनसँग खेलवाड होइन, यो मानवअधिकार उल्लंघनको गम्भीर रूप पनि हो।
नेपालमा मिर्गौला तस्करी बढ्नुका विभिन्न कारणहरू छन्। सबैभन्दा प्रमुख कारण गरिबी हो। थुप्रै मानिसहरू आर्थिक अभावका कारण पैसाको लोभमा परेर आफ्नो मिर्गौला बेच्न तयार हुन्छन्। दलालहरूले गरिब र अशिक्षित मानिसहरूलाई विदेशमा राम्रो काम पाइदिने, वा मिर्गौला बेचेर ठूलो पैसा कमाइने भन्दै झुक्याउँछन्। उनीहरूलाई मिर्गौला बेच्नुको दीर्घकालीन स्वास्थ्य प्रभावबारे थाहा नहुने वा बुझ्न नदिने गरिन्छ।
अर्को महत्वपूर्ण कारण भनेको सीमित स्वास्थ्य सुविधा र कमजोर कानूनी व्यवस्था हो। नेपालका केही ग्रामीण क्षेत्रहरूमा स्वास्थ्य सम्बन्धी जानकारीको अभाव छ, जसले गर्दा मानिसहरू सजिलै दलालहरूको जालमा फस्छन्। साथै, सीमा क्षेत्रमा निगरानी कमजोर भएकोले पनि मिर्गौला तस्करी सजिलै हुन्छ।
मिर्गौला तस्करी प्रायः संगठित गिरोहद्वारा सञ्चालन गरिन्छ। यी गिरोहहरूले तस्कर, स्वास्थ्यकर्मी, र कहिलेकाहीं कानूनी निकायका केही भ्रष्ट कर्मचारीहरूसँग मिलेर काम गर्छन्। तस्करी हुने मानिसहरूलाई प्रायः भारत, बंगलादेश, वा अन्य देशहरूमा लैजान्छन् जहाँ अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरिन्छ। कहिलेकाहीं पीडितलाई झुक्याएर, धम्की दिएर, वा जबर्जस्ती गरेर मिर्गौला निकालिन्छ।
मिर्गौला तस्करीले पीडितहरूमा दीर्घकालीन स्वास्थ्य समस्या ल्याउँछ। मिर्गौला बेचेपछि उचित स्वास्थ्य परीक्षण र उपचार नपाउँदा थुप्रै मानिसहरूको ज्यानसमेत जान सक्छ। आर्थिक रूपमा फाइदा हुने आशामा मिर्गौला बेच्नेहरूले धेरैजसो अपेक्षित रकम पनि नपाउने र थप गरिबीको चपेटामा पर्ने गरेका छन्।
सामाजिक दृष्टिले पनि मिर्गौला बेच्ने मानिसहरूलाई हेय दृष्टिले हेरिन्छ, जसले उनीहरूको आत्मसम्मानमा ठुलो धक्का पुग्छ। समाजबाट बहिष्कृत हुने, परिवारको समर्थन गुमाउने, र मानसिक तनाव भोग्नुपर्ने अवस्था आउँछ।
नेपाल सरकारले मिर्गौला तस्करी नियन्त्रण गर्न विभिन्न कानूनी कदम चालेको छ। मानव बेचबिखन र अंग तस्करीविरुद्ध कडा कानूनी प्रावधानहरू लागू गरिएका छन्। यद्यपि, प्रभावकारी कार्यान्वयन र निगरानीको अभावले यी कानूनी प्रयासहरू सफल हुन सकेका छैनन्।
अन्तर्राष्ट्रिय स्तरमा पनि मिर्गौला तस्करी नियन्त्रणका लागि सहकार्य आवश्यक छ। नेपाल र भारतबीच खुला सिमा भएकाले दुवै देशले सिमा निगरानी कडा पार्नुपर्ने आवश्यकता छ। साथै, जनचेतना अभिवृद्धि गरेर मानिसहरूलाई तस्करीको जोखिमबारे सचेत गराउनु महत्त्वपूर्ण छ।