प्रश्न र आलोचनामुक्त मुलुक बनाउन सामाजिक संजाल बिधेयक ल्याएको भन्दै प्रचण्डले गरे ओलीप्रति कटाक्ष
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा सत्तारुढ दल नेपाली कांग्रेसको आधिकारिक धारणा माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कांग्रेससँग धारणा माग गरेका हुन् ।
उनले यो विधेयक ल्याउनुमा सरकारको नियत प्रकट भएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टीजस्तै प्रश्न, आलोचना र विवेकमुक्त देश बनाउन खोजेको आरोप लगाए ।
‘यो विधेयकमा सरकारको नियत प्रष्ट प्रकट भएको छ । प्रधानमन्त्री ओलीले विरोधको त परको कुरा रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न,’ प्रचण्डले भने, ‘यो कुरा नेपालमा पटकपटक प्रमाणित भएको तथ्य हो । उहाँले सक्नुहुन्थ्यो भने सिंगो देशलाई आफ्नो पार्टीजस्तै प्रश्नमुक्त, आलोचनामुक्त र विवेकमुक्त बनाउन चाहनुहुन्छ ।’
अभिव्यक्ति, संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चने प्रयत्न प्रधानमन्त्री ओलीले यसअघि पनि गर्दै आएको भन्दै यसपटक आफ्नो प्रश्न कांग्रेसमा रहेको उनको भनाइ थियो ।
‘यस्तो प्रयास प्रधानमन्त्रीकै रुपमा पनि पटकपटक गर्नुभएकै हो । म उहाँलाई प्रश्न गर्दिनँ । नेपाली कांग्रेसलाई सोध्न चाहन्छु । के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईंहरू विपक्षमा उभिनुभएको थियो । आज कता उभिनुभएको हो ?,’ उनले भने ।
उनले अघि प्रश्न गरे, ‘तपाईंहरू सत्ताका लागि मात्रै सहकार्यमा हुनुहुन्छ कि राजनीतिक दृष्टिकोण नै परिवर्तन गरेर केपी ओलीकै ठाउँमा पुग्नुभएको हो ? के नेपाली कांग्रेसलाई पनि प्रधानमन्त्रीको जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ?’