लमजुङका सरकारी कार्यालय: दरबन्दी अनुसार प्रमुख नभएपछि निमित्तकै भर !
काठमाडौँ - लमजुङका आधा दर्जनभन्दा बढी सरकारी कार्यालय दरबन्दी अनुसार प्रमुख नहुँदा निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएका छन् ।
लामो समयदेखि जिल्ला कारागार, मालपोत, हुलाक, जिल्ला निर्वाचन कार्यालय, पूर्वाधार विकास कार्यालय, जलस्रोत तथा डिभिजन सिँचाइ कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अलैँची जोन) कार्यालय प्रमुखविहीन अवस्थामा रहेका छन् । ती कार्यालयमा चार वर्षदेखि निमित्त प्रमुखले जिम्मेवारी सम्हाल्दै आएका छन् ।
दरबन्दीअनुसार कर्मचारी पदपूर्ति हुन नसक्दा कार्यालय प्रमुख पद रिक्त हुँदै गएको स्थानीय बताउँछन् । प्रमुखविहीन कार्यालयका कारण सेवा प्रवाह प्रभावित भएको सेवाग्राहीहरू गुनासो गर्छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार जिल्लाका विभिन्न सरकारी कार्यालयमा निमित्त प्रमुखहरूले
जिम्मेवारी सम्हाल्दै आएका छन् । जनशक्ति अभावका कारण तल्लो तहका कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिनुपर्ने बाध्यता रहेको गौतमले बताए ।
मालपोत कार्यालयका निमित्त प्रमुख पूर्णबहादुर गुरुङका अनुसार कार्यालय प्रमुख नहुँदा नामसारी, घरजग्गा संशोधन, आर्थिक कारोबारलगायतका काम प्रभावित भएका छन् । सेवाग्राहीहरूले प्रमुखको अभावका कारण समस्या भोग्नुपरेको बताएका छन् ।