एमाले निल्न नसकेका प्रचण्डले यसरी तान्दैछन् रवि लामिछानेप्रतिको भावनात्मक समर्थन
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले एमाले कब्जामा असफलता प्राप्त गरेपछि त्यसलाई चोइटाएका थिए।
प्रचण्डको पहलमा नै अध्यादेशमार्फत दल विभाजनसम्बन्धी कानुन संशोधन गरी माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो।
त्यसअघि एमालेसँग एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहअध्यक्ष बनेका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्रीय समितिमा अल्पमतमा पारी एकल अध्यक्ष बन्ने अभ्यास गरेका थिए। तर, त्यहाँ सर्वोच्च अदालतले हस्तक्षेप गरेपछि प्रचण्डको योजना तुहिएको थियो।
अदालतले एमाले र माओवादीलाई ब्युँताएको थियो।
राजनीतिमा अनेक खालका प्रयोग गरिरहने प्रचण्डले यस पटक भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भावनात्मक समर्थन समेट्ने प्रयास गरिरहेका छन्।
उनले बिहीबार प्रतिनिधि सभाको सम्बोधनका क्रममा यहि झल्को दिए। नेपाली कांग्रेस र एमालेलाई गाली गर्दै प्रचण्डले लामिछानेप्रतिको भावनात्मक समर्थक र रास्वपा कार्यकर्तालाई आकर्षणमा पार्ने भाषण दिए।
‘रवि लामिछाने सहकारी प्रकरणमा प्रत्यक्ष ऋण लिनेमा देखिएनन्। तर, अहिलेको सरकारले विभिन्न जिल्ला डुलाएर हुर्मत लिने र दुख दिने गरिरहेका छ’, प्रचण्डले सदनमा यस्तो बताउँदा रास्वपाका सांसदले टेबुल ठोकेका थिए।
रास्वपा समर्थक र सांसदले हिजोसम्म प्रचण्डविरुद्ध आगो ओकलेर सामाजिक सञ्जालमा गाली गर्दा आज उनले रविप्रति देखाएको सहानुभूतीको भिडिओहरू सेयर गरिरहेका छन्।
जबकि सहकारी प्रकरणको छानबिनका लागि प्रचण्ड नेतृत्वको सरकारले नै संसदीय छानबिन समिति गठन गरेको थियो। तर सरकार टिकाउनका लागि प्रचण्डले लामिछानेका सन्दर्भमा सुरक्षा निकायका प्रमुखहरुसँग ब्रिफिङ लिएको भन्दै दोषी नभएको भनी बचाऊको प्रयत्न पनि गरेका थिए।
गत निर्वाचनमा जनमतमा कमजोर र समानुपातिकमा भने हाराहारीमा आएको रास्वपाको भावनात्मक समर्थन लिँदै आगामी चुनावको तयारी गर्ने प्रचण्डको तयारी रहेको छ।
यहि क्रममा रास्वपाले उठाउँदै आएको मुद्दालाई ओभरल्याप गर्दै सदनमा प्रचण्डले सोधेका थिए,‘शेरा दरबारमा मेरो संलग्नता भए मबाट छानबिन होस्। तर, गिरीबन्धु, यति, ओम्नी, स्वीस र कम्बोडियाको विषयमा प्रधानमन्त्रीले छानबिन समिति गठन गर्लान् त?’
सहकारी छानबिनको समिति बनेको र सत्ता समीकरण फेरिएपछि यहि भाषामा रवि लामिछानेले भनेका थिए,‘मैले जेलको उद्घाटन गरेको छु। छानबिन र कानुनी कारबाही मैबाट होस्।’
प्रचण्डले राजनीतिमा आएपछि अनेक प्रकारका प्रयोग गरिरहेका छन्। उनले कम्युनिस्ट एकताको नाममा एमालेसँगको गठबन्धन गरी ०७४ को निर्वाचनमा बलियो जनमत बनाउने अभ्यास गरे भने ०७९ मा एमालेविरुद्ध मोर्चाबन्दी कसी कांग्रेससहितको गठबन्धन बनाएर माओवादीको साख जोगाएका थिए।
अबको चुनाव एक्लै लड्ने घोषणा गरे पनि जनमत गुम्न नदिनका लागि उनले स्वतन्त्र उम्मेदवार र पार्टीको भावनात्मक समर्थनलाई हतियार बनाउने रणनीति लिएका छन्। त्यसको उदाहरणको रुपमा उनले सदनमा भनेका थिए,‘स्वतन्त्र र नयाँ पार्टीलाई मैले गणतन्त्रमा फूलेका नयाँ फूलहरु भनेको छु। तर, तपाई (कांग्रेस र एमाले)ले निमोठ्ने प्रयास गरिरहनु भएको छ। जनताले यो कुरा हेरिरहेको छ।’