Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस नेताले देखाउँछन् ‘रमिता’ कहिलेकाहीँः यस्तो थियो केसीको खैनी र कोइरालाको गुट्खा काण्ड

शुक्रबार, माघ २५, २०८१

काठमाडौं– नेपाली कांग्रेसका कतिपय नेता चर्चा र विवादमा आउने काम गरिरहेका हुन्छन्। 

एक पटक तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले चुरोट पिएको तस्बिर सार्वजनिक हुँदा कम्ति चर्चा भएको थिएन। पछि प्रधानमन्त्री रहँदा नै उनले धुम्रपान छाडेको पनि खबर सार्वजनिक भएको थियो। 

यस्तै कांग्रेसका नेताले अहिले प्रतिनिधि सभा बैठकमा नै सुर्तीजन्य पदार्थ प्रयोग गरेका भिडिओ सार्वजनिक भइसकेका छन्। यसले उनीहरुलाई ‘समाचारको हेडलाइन’मा अटाउने गरेको छ। 

सदनमा बिरलै देखिने गरेका कांग्रेसका पूर्वमहामन्त्री एवम् प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले गुट्खा खाएको भिडिओ प्रत्यक्ष प्रशारणका क्रममा कैद भएको थियो। 

यसका कारण उनी ‘ट्रोल’ पनि भए। 

कोइरालाले प्रतिनिधिसभाको बैठक चलिरहँदा शून्य समयमा कांग्रेसकै सांसद राजेन्द्र बजगाईं बोलिरहेको बेला गुट्खा सेवन गरेको दृश्य प्रत्यक्ष प्रशारणमा देखिएको थियो। 

पहिलेदेखि नै केही कुरा चपाइरहेको देखिने कोइरालाले सांसद बजगाईं बोल्दै गर्दा प्याकेट खोलेर मुन्टोमाथि गर्दै दुई हातले गुट्खा खाएको देखिएको थियो।

सूर्तीजन्य पदार्थ संसद बैठक चलिरहँदा खाने कोइराला मात्र होइनन्, यसअघि कांग्रेसकै सांसद अर्जुनरसिंह केसीले पनि बैठकमा सूर्ती निकालेर भुइँमा फालेको दृश्य लाइभ क्यामरामा कैद भएको थियो।

संसद बैठकमै खानी खाएर थुकेको भिडिओ सार्वजनिक भएपछि केसीले संसदमा पासो थापेर आफ्नो बदनाम गरिएको बताएका थिए। संसदमा खैनी खाएर थुकेको भिडिओ सार्वजानिक भएपछि उनको सर्वत्र आलोचना भइरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका थिए। 

उनले भनेका थिए,‘केही दिनदेखि म अस्वस्थ छु। एक्कासी घाँटी सक्र्यो। बाध्यताले थुक्नै पर्ने भयो। यो बाध्यतालाई नबुझी बदनाम गर्ने नियतले जुन समाचार बाहिर लगियो मलाई यसले अश्चर्य बनाएको छ।’

केसीले भनेका थिए,‘हतियार थापेर मलाई कुर्नेहरुको लागि मौका मिल्यो, कुनैदिन मेरै जस्तो समस्या अरुलाई पनि नआउला भन्न सक्दिन।’

संसद एक गरिमामय संस्था हो, जहाँ नीति निर्माण, कानुन निर्माण, र राष्ट्रिय महत्त्वका विषयहरूमा छलफल गरिन्छ। 

यस संस्थाको गरिमा जोगाउने जिम्मेवारी संसदका सदस्यहरूमाथि रहन्छ। तर, केही सांसदहरू सदनभित्रै सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइन्छ, जुन नितान्त अनुपयुक्त मात्र नभई कानुनी र नैतिक रूपमा पनि गलत छ। 

संसदभित्र सुर्तीजन्य पदार्थ सेवन निषेध गर्नु आवश्यक छ भन्ने विषयलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ।

सुर्तीजन्य पदार्थ सेवनले स्वास्थ्यमा गम्भीर असर पार्छ। चुरोट, गुट्का, र सुर्ती जस्ता पदार्थहरूमा निकोटिन तथा अन्य हानिकारक रसायनहरू हुन्छन्, जसले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्छ। 

संसदभित्र सुर्तीजन्य पदार्थ सेवन गरिँदा अन्य सांसदहरू पनि अप्रत्यक्ष रूपमा धूम्रपानको असरबाट प्रभावित हुन सक्छन्, जसले उनीहरूको स्वास्थ्य जोखिममा पार्छ।

संसद लोकतन्त्रको सबैभन्दा उच्च संस्था हो। यहाँ सांसदहरूले अनुशासन, मर्यादा, र नैतिक आचरणको उदाहरण प्रस्तुत गर्नुपर्छ। सदनभित्र सुर्तीजन्य पदार्थको सेवन गर्दा संसदको गरिमा घट्छ र असभ्य व्यवहारको संकेत दिन्छ। 

सांसदहरूले संसदलाई एक मर्यादित थलो बनाउन योगदान गर्नुपर्छ, जहाँ स्वस्थ तथा अनुशासित व्यवहारको पालना होस्।

नेपालमा सार्वजनिक स्थानमा धूम्रपान निषेध गरिएको छ। नेपाल सरकारको सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन, २०६८ ले सार्वजनिक स्थल, कार्यालय, तथा सभा–गोष्ठी हुने स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने स्पष्ट रूपमा उल्लेख गरेको छ। 

संसद सार्वजनिक स्थल मात्र नभई नीति निर्माण गर्ने सबैभन्दा उच्च तहको संस्था भएकाले यहाँ कानुनको पालना झनै कडाइका साथ गर्नुपर्छ। सांसदहरूले नै कानुन तोड्ने हो भने सर्वसाधारणले पनि यसलाई गम्भीर रूपमा नलिने सम्भावना रहन्छ।

सांसदहरू देशका नीति निर्माता तथा समाजका अगुवा हुन्। यदि उनीहरूले नै सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्ने हो भने, जनताले यसलाई सामान्य मान्न सक्छन्। 

बरु सांसदहरूले स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्नुपर्छ, जसले जनतालाई पनि प्रेरित गर्नेछ। संसदभित्र सुर्तीजन्य पदार्थ निषेध गर्दा संसद मात्र नभई समाजमा पनि यसको सकारात्मक प्रभाव पर्नेछ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्