Nic Ad Nic Ad
Nic Ad Nic Ad

विपिन जोशीको रिहाइका लागि सभामुखले पठाए अरब संसदका अध्यक्षलाई पत्र

शुक्रबार, माघ २५, २०८१

काठमाडौं- सभामुख देवराज घिमिरेले अपहरणपछि हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल गरेका छन् । सभामुख घिमिरेले अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन् ।

‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।

पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । पत्रमा सभामुखले भनेका छन्,’‘नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताको लागि स्वागतयोग्य दृष्टिकोण लिएको स्मरण गराउँदछु ।’

हमासले २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि जोशीलाई बन्दी बनाएको थियो । जोशीको रिहाइका लागि सरकारले कुटनीतिक पहल गरिरहेको छ । गएको आइतबार नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले सभामुखसँगको भेटमा विपिनको रिहाइका लागि संसदीय कुटनीति समेत प्रयोग गर्न सकिने सुझाव दिएका थिए ।

सभामुख घिमिरेले नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदान–प्रदान सम्झौताको स्वागत गरेको समेत उल्लेख गरेका छन् । सभामुख घिमिरेले नेपाल सार्क, बिमस्टेकजस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संरचनाहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको स्मरण गराउँदै नेपाल र अरब लिगबीच थप सहकार्यको आवश्यकमा जोड दिएका छन् । सभामुख अपिलसँगै विपिन जोशीको सकुशल उद्दारका लागि कूटनीतिक तहमा थप पहल हुने अपेक्षा गरिएको छ ।

यसैगरी आज बिहान परराष्ट्रमन्त्री आरजु राणा देउवाले इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी थिइन् । विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत विपिनको रिहाइका लागि कूटनीतिक पहल गरिरहेकी छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्