Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिदेशीय महिला टी–२० क्रिकेट : छैटौँ खेलमा पनि नेपाल पराजित

शुक्रबार, माघ २५, २०८१

काठमाडौं- त्रिदेशीय महिला टी–२० क्रिकेट श्रृंखलामा घरेलु टोली नेपाल अंकविहीन भएको छ । थाइल्याण्ड र नेदरल्याण्ड्स समेत सहभागी श्रृंखलामा नेपाल सबै ६ खेलमा पराजित भएको हो ।

नेपालले नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल २० रन, दोस्रो १५ रन र तेस्रो १० विकेटले हारेको थियो । थाइल्यान्डसँगको खेलमा नेपाल पहिलोमा ४ विकेट, दोस्रोमा ५ रन र तेस्रोमा ७ विकेटले पराजित भयो । नेपाली महिला टोलीले पहिलो पटक नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गरेको हो । हरेक प्रतियोगितामा बाधक बन्दै आएको थाइल्याण्डलाई नेपाली महिला टोलीले अहिलेसम्म हराउन सकेको छैन ।

श्रृंखलाको उपाधि भने थाइल्याण्डले जितेको छ । ६ खेलबाट १० अंक जोड्दै थाइल्याण्डले उपाधि जितेको हो । उसले नेदरल्याण्ड्ससँगको एक खेल मात्र हारेको थियो । डच टोली ८ अंकमा दोस्रो स्थानमा रह्यो । शुक्रबार नेपालले दिएको ८२ रनको मध्यम लक्ष्य थाई टोलीले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ८१ रनको योगफल तयार पारेको हो । कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४ र क्याप्टेन इन्दु बर्माले १० रन बनाइन् । डेब्यू खेलमा राजमती ऐरी ११ रनमा नटआउट रहिन् । अन्यले दोहोरो अंक छुन सकेनन्।थाइल्याण्डका लागि ओनिचा काम्चोम्फुले ३ विकेट लिइन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्