आहा रारा पोखरा गोल्डकप : संकटामाथि थन्डरबोल्टको रोमाञ्चक जित
पोखरा- पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकपमा तीन पटकको विजेता संकटा क्लबलाई पराजित गर्दै आमन्त्रित टिम थन्डरबोल्टस् क्वार्टर फाइनल पुगेको छ । शुक्रबार पोखरा रंगशालामा भएको अन्तिम क्वार्टर फाइनल खेलमा सिक्किमको थन्डरबोल्ट्स युनाइटेडले संकटालाई ३–१ ले हराएको हो ।
खेलको अग्रता भने संकटाले लिएको थियो । तर अग्रतालाई कायम गर्न संकटा पहिलो खेलबाटै फर्किनु परेको छ । खेलको १७ औं मिनेटमा संकटाका मनिष पौडेलले टिमलाई अग्रता दिलाएका थिए । उनले विपक्षीको डि बक्स भित्रबाट गोल गरेका हुन् ।
उनले पासाङ लामाको पास सदुपयोग गर्दै उत्कृष्ट फिनिस गरे । तर संकटाको खुशी लामो समय टिक्न पाएन । खेलको ३४औं मिनेटमा थण्डरबोल्टले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । थन्डरले पाएको पेनाल्टी मौका टिमका टालाले पेनाल्टीमा सहजै गोलमा परिणत गरे । संकटाका किपर दिपले कुनै अवसर पाएनन् ।
सोही रफ्तारलाई कायम राख्दै पहिलो पटक आहा रारा पोखरा गोल्डकपमा खेल्न आएको थन्डरले खेलको ७६औं मिनेटसम्म खेल बराबरीमै राख्यो । ७७औं मिनेटमा थन्डरका करन राईले व्यक्तिगत एक गोल गर्दै खेललाई २–१ को सहज स्थितिमा ल्याए । उनले आन्द्रेको क्रशमा बक्सबाट गोल गरेका हुन् । संकटाका डिफेण्डर र किपर दिप कार्कीले बल रोक्ने कुनै अवसर पाएनन् ।
दोस्रो गोलपछि सहज स्थितिमा फर्किएको थन्डर त्यसपछि भने आत्मविश्वासी देखियो । थन्डरका आदर्श तामाङले खेलको ८४औं मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गरे । उनले मैदानको सेन्टरभागबाट गोल गर्दै थन्डरबोल्टलाई ३–१ को अग्रता दिलाएसँगै सिक्किमको टोली जित नजिक पुगेको हो ।