Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेलाई झन्डै तीन करोड धरौटी पाउँदा समर्थनमा उत्रेका जिल्ला उपसभापतिले १ लाख पाएनन्, जेल चलान

शुक्रबार, माघ २५, २०८१

 

राष्ट्रिय स्वतन्त्र पार्टीका हुम्ला जिल्ला उपसभापति महानन्द जैसी एक लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन्।


वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँले उनीसहित तीनजनासँग एक लाख रुपैयाँका दरले धरौटी माग गरेको थियो।

दुई जना धरौटी बुझाएर रिहा भइसके पनि हुम्लाको अदानचुली गाउँपालिका ४ घर भई हाल काठमाडौँको टोखा बस्ने ३२ वर्षका महानन्द जैसीलाई भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार सुन्धाराको जगन्नाथदेवल पठाइएको छ।


जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले शुक्रबार ज्यान मार्ने उद्योगमा तीनै जनासँग एक लाख रुपैयाँका दरले धरौटी माग गरेको थियो।

हातपातको आरोपमा पक्राउ परेका दोलखाको तामाकोसी गाउँपालिका १ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका ५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ती गाउँपालिका ४ घर भई शान्तिनगर बस्ने ५५ वर्षकी शीतल राई भन्ने सितादेवी राईले धरौटी बुझाइसकेका हुन्।


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जाहेरवालाको तर्फबाट बहस गरेका त्रिपाठीलाई बाहिर कुटपिट गरेका थिए।

माघ २ गते जिल्ला अदालतको गेट बाहिर त्रिपाठीमाथि हातपात गरे लगतै उनीहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो।

उनीहरुविरुद्ध १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ। यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराइदिनु पर्ने पनि अभियोग पत्रमा माग गरिएको छ।  

त्रिपाठीमाथि कुटपिट भएकै दिन रवि भने ६० लाख धरौटी बुझाएर रिहा भएका छन्। रविले सहकारी ठगीका चार वटा मुद्दामा पोखरा, काठमाडौँ, रुपन्देही र चितवनमा गरी २ करोड ७९ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

तर उनकै बचाउनमा उत्रिएका कार्यकर्ता जैशी भने १ लाख धरौटी बुझाउन नसक्दा जेल पुगेका हुन्।

यसैबिच प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको चपुरका ३३ वर्षीय दीपक आले मगर छन्। उनलाई पनि अदालतबाट ५ दिन म्याद लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्