Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोसेली र मायाको चिनो ‘तेह्रथुमे ढाका’

शुक्रबार, माघ २५, २०८१

तेह्रथुम - देश–विदेशसम्म ख्याती कमाउन सफल तेह्रथुमे ढाका पछिल्लो समय तेह्रथुमको चिनो अर्थात् कोसेलीको रूपमा प्रयोग गर्ने प्रचलन बढेको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ रतनपुरकी लक्ष्मी लिम्बूले विदेशमा रहेका आफ्ना आफन्तलाई हातले बुनेका तेह्रथुमे ढाका कपडाका सामान कोसेलीको रूपमा पठाउने गरेको बताइन् ।

बेलायतमा रहेका नन्द र हङकङमा रहेकी बहिनीले विशेषगरी चाडपर्वको समयमा ढाकाको कपडाको माग गर्ने भएकाले कोसेलीस्वरूप पठाउने गरेको उनले सुनाइन् । तेह्रथुमे ढाका कपडाबाट बनेका साडी, चोली, कोट, लिम्बू जातिको जातीय पहिरन मेख्ली जस्ता सामग्री आफन्तलाई कोसेलीको रूपमा पठाउने गरेको लक्ष्मीले सुनाइन् ।


जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रमासमेत अतिथि र आमन्त्रितलाई मायाको चिनोको रूपमा ढाकाकै सामग्री दिने प्रचलन बढेको छ । तेह्रथुमे ढाका कपडाबाट बनेका पछ्यौरा, टोपी, रूमाल, पर्सजस्ता सामग्री कार्यक्रममा मायाको चिनोको रूपमा प्रयोग हुने गरेको नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङले बताए ।

‘पहिला जिल्लामा हुने सभासम्मेलनमा अतिथिलाई खादा लगाएर सम्मान गर्ने गरिएकोमा पछिल्लो समय ढाकाको मखलर (गदबन्दी) लगाइदिने चलन बढेको छ’, उनले भने, ‘जसले गर्दा तेह्रथुमे ढाकाकपडाको प्रबद्र्धन र प्रचारप्रसारमा सहयोग पुगेको छ ।’ तानको सहायतामा हातले बुनेर तयार गरिने तेह्रथुमे ढाका कपडा स्वदेशमा मात्र होइन विदेशमा पनि प्रसिद्ध छ । नेपाली रहेबसेका विभिन्न मुलुकबाट समेत तेह्रथुमे ढाका कपडाको माग आउने गरेको सदरमुकाम म्याङलुङमा तेह्रथुमे ढाका कपडाको व्यवसाय गर्दे आएकी शोभा दाहालले बताइन् ।

तेह्रथुमे ढाका कपडाबाट साडी चोली, मेख्ली, कुर्ता सुरूवाल, पछ्यौरा, कोट, टोपी, मखलर, रूमाल, पर्स, जुत्ता, चप्पल जस्ता सामग्री बनाइन्छ । सदरमुकाम म्याङलुङमा मात्रै आधा दर्जन भन्दाबढी ढाकाकपडाका पसल सञ्चालनमा छन् । तेह्रथुम उद्योग वाणिज्य संघका अध्यक्ष राजिव ढुङ्गानाका अनुसार वार्षिक करोड भन्दा बढीको ढाका कपडा जिल्ला बाहिर निर्यात हुनेगर्छ । उनका अनुसार कोरोना महामारीबाट सिर्जित आर्थिक मन्दिपछि घटेको ढाका कपडाको कारोबार अहिले विस्तारै उकालो लागेको हो ।

सदरमुकाम म्याङलुङ र आसपासका गाउँका पाँच हजारभन्दा बढीले नियमित ढाका कपडा बुन्ने गरेको बताइन्छ । परम्परागत रूपमा खाडीको कपडा बुन्ने गरेका तेह्रथुमका महिलालाई सन् १९८३ ताका ढाकाबारे अध्ययन गर्न तेह्रथुम आएकी बेलायती नागरिक सुसी डान्समोरले धागोको रङ्ग छनोट र आकर्षक बुट्टा बनाउनेसम्बन्धी सीप सिकाएपछि तेह्रथुमे ढाकाले व्यावसायिक मोड लिएको बताइन्छ ।

तेह्रथुमे ढाकाको प्रवर्द्धनका निम्ति तेह्रथुमलाई ढाकाको राजधानी घोषणा गरिएको छ । त्यस्तै ढाका बुनकरहरूको सम्मानस्वरूप सदरमुकाम म्याङलुङमा कोशी प्रदेश सरकार र म्याङलुङ नगरपालिकाको साझेदारीमा ढाका बुनिरहेको महिलाको स्तम्भसमेत निर्माण गरिएको म्याङलुङ नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  २२:०८
प्रतिक्रिया दिनुहोस्