बालयौन दुर्व्यवहारमा मदन राईलाई साढे २ वर्ष कैद सजाय
खोटाङ - बालयौन दुरूपयोग कसुरमा दोषी ठहरिएका कृषिविज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले दुई वर्ष छ महिना कैद सजाय तोकेको छ ।
साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईलाई जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार सजाय निर्धारण गरेको हो । यही माघ १० गते दोषी ठहरिएका कृषिविज्ञ राईलाई दुई वर्ष छ महिना कैदका साथै एक लाख रुपैयाँ जरिवानासमेत निर्धारण भएको जिल्ला अदालत खोटाङका स्रेस्तेदार सीताराम खड्काले जानकारी दिए ।
यस्तै, पीडित किशोरीलाई एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन सजाय फैसला भएको अदालतले जनाएको छ ।
कृषिविज्ञ राईमाथि आफैँले सञ्चालन गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन ९शुभम्० फाउण्डेशनका किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको थियो । बालयौन दुरूपयोग कसुरमा अदालतले कृषिविज्ञ राईलाई माघ १० गते कसुर ठहर गरेको थियो ।
फाउण्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया किशोरीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीलाई दिएको उजुरीका आधारमा राई विसं २०८० वैशाख २९ गते पक्राउ परेका थिए । आरोपित कृषिविज्ञ राई मुद्दाको फैसला नभएसम्म फाउण्डेशनमा जान नपाउनेगरी विसं २०८० जेठ २२ गते रू चार लाख धरौटी बुझाएर तारेखमा रिहा भएका थिए ।
आरोपित कृषिविज्ञ राईविरूद्ध विसं २०८० जेठ–२१ गते जिल्ला सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालत खोटाङमा बालयौन दुरूपयोगसम्बन्धी अभियोगपत्र दायर गरेको थियो । जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा कृषिविज्ञ राईलाई तीन वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना माग गरिएको थियो ।