Nic Ad Nic Ad
Nic Ad Nic Ad

कानुन व्यवसायी परिषद् पार्षद्का लागि मतदान जारी

शनिबार, माघ २६, २०८१

काठमाडौँ- कानुन व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि मतदान सुरु भएको छ ।

samridhi jewllers

परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरूको निर्वाचन मण्डलबाट सात प्रदेशबाट एक-एक जना पार्षद्को चयन गर्नुपर्ने व्यवस्थाअनुसार बागमती प्रदेश पार्षद्का लागि सर्वोच्च अदालत परिसरमा मतदान सुरु भएको हो ।

बागमती प्रदेशको निर्वाचन समन्वय समितिका प्रमुख वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले मतदान सुरु भएको र ४ बजेसम्म सञ्चालन हुने बताए । सातै प्रदेशमा बिहान १० बजे सुरु भएर ४ बजेसम्म मतदान हुनेछ ।  

परिषद्को पार्षद् छान्न देशभर ११ हजार मतदाता छन् । बागमती प्रदेशमा मात्रै आठ हजार दुई सय मतदाता छन् । परिषद्बाट हालसम्म ३१औँ परीक्षाबाट पास भएका सम्पूर्ण कानुन व्यवसायीले मतदान गर्न पाउनेछन् ।

परिषद्को बागमती प्रदेशको पार्षद्का लागि प्रगतिशील, पेसागत, देशभक्त, समावेशी समूहका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता रविनारायण खनाल र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले उम्मेदवारी दिएका छन् । 

वरिष्ठ अधिवक्ता खनालले आफ्नो उम्मेदवारीको प्रतिबद्धतापत्रमा परिषद्लाई कानुनी बौद्धिक पुञ्जका रूपमा विकास गर्ने, कानुनी शिक्षालाई वैज्ञानिक अभ्यासमूलक र गुणस्तरीय बनाउने, छुट्टै कानुन विश्वविद्यालयको स्थापनाका लागि आवश्यक पहल गर्ने, अन्तर्राष्ट्रिय मापदण्डबमोजिम व्यावसायिक तथा व्यावहारिक शिक्षाको पाठ्यक्रम परिषद् आफैँले विकास गरी सो पाठ्यक्रम लागू गर्न गराउन पहल गर्नेलगायत व्यक्त रहेको छ ।

त्यसैगरी वरिष्ठ अधिवक्ता कोइरालाले आफ्नो उम्मेदवारीको प्रतिबद्धतापत्रमा कानुन व्यवसायीहरूको प्रमाणपत्र, परीक्षा सञ्चालन, कानुन व्यवसायीहरूको अनुगमनदेखि उनीहरूको क्षमता विस्तारलगायतका काम गर्ने उल्लेख छ ।

महान्यायाधीवक्ताको अध्यक्षतामा रहने कानुन व्यवसायी परिषद्को उपाध्यक्षमा नेपाल बार एसोसियसनको निर्वाचित अध्यक्ष, सर्वोच्च अदालतको रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित सात प्रदेशबाट सात जना पार्षद चयन हुन्छन् । यसअघि बागमती प्रदेशको पार्षद्मा वरिष्ठ अधिवक्ता डा ।चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका थिए । पार्षद्को पदावधि पाँच वर्षको हुनेछ ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्