Nic Ad Nic Ad
Nic Ad Nic Ad

खर खरेभिरको पहिरो रोकथाममा ढिलाइ

आइतबार, माघ २७, २०८१

लमजुङ - बेँसीसहर-चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका-६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ । करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन । यहाँ गत असारयता निर्माण कार्य ठप्प छ ।

samridhi jewllers

संघीय सरकारको रु. १६ करोड ४८ लाखमा खरखरेभिरमा पहिरो रोकथामका लागि निर्माण कार्य हुँदै आएको थियो । निर्माणमा संलग्न निर्माण व्यवसायीले बीचमा काम छाडेका छन् । यसबाट स्थानीय तथा पर्यटकलाई समस्या  भएको छ । डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टले भने, “पहिरो रोकथामको काम जटिल रहेको कारण देखाउँदै काम बन्द गरिएको छ ।”


भौगोलिक बनावट कठिन हुँदा काम गर्दा माथिको डाँडा नै खस्न सक्ने अवस्था छ । यसअघि निर्माण गरिएको सडकमाथिको संरचना पनि भत्किएको छ । सडकको हालसम्म जम्मा ३२ प्रतिशत मात्र प्रगति भएको सूचना अधिकारी विष्टले बताए । उक्त खण्डमा तीन सय मिटर पर्खाल सडक ढलान गर्नुपर्ने देखिन्छ । अझै ८० मिटर सडक ढलान गर्न बाँकी रहेको छ । सो काम सम्पन्न भएपछि पहिरो रोकथाम हुने सूचना अधिकारी विष्टको भनाइ छ । 

पहिरो रोकथाम नहुँदा सो सडक भएर यात्रा गर्न जोखिम भएको बेँसीसहर नगरपालिका–६ का कृष्णबहादुर आलेले बताए । “यात्रा गर्दा कति बेला माथिबाट ढुंगामाटो तथा पहिरो खस्ने हो भन्ने डर रहन्छ । सडकबाट चिप्लाए सिँधै मर्स्याङ्दी नदीमा पुग्ने खतरा छ”, उनले भने ।

विश्व चर्चित चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने उक्त ठाउँको पहिरो हुँदै पर्यटक आवतजावत गर्छन् । बेँसीसहर-६ वडाध्यक्ष प्रकाश थापाले भने, “यहाँ हिँड्दाहिँड्दै पहिरो खस्छ, जोखिम छ, धेरै गाह्रो छ । अझ बर्खायाममा बढी समस्या तथा जोखिम हुने गरेको छ ।” पहिरोभन्दा माथि २४-२५ परिवार रहेको फाँटगाउँ छ । पहिरोले बस्ती भेट्न करिब पाँच सय मिटर मात्र बाँकी छ । 

कार्यालयका अनुसार खरखरेभिरका लागि बोलपत्र आह्वान गरेर रु. २० करोड लागत अनुमान गरिएकामा रु. १६ करोड ४८ लाखमा निर्माण सम्पन्न गर्ने गरी खरीढुंगा गोल्मेस्वर जेभीले कामको जिम्मा लिएको थियो । सम्झौताअनुसार २०८० मङ्सिरभित्र काम सम्पन्न हुनुपर्ने हो । तर काम सम्पन्न हुन नसक्दा २०८२ मङ्सिरसम्मका लागि  म्याद थप गरिएको कार्यालयले जनाएको छ ।

मनाङ जिल्लालाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुसार २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली, तनहुँले निर्माण सुरु गरेको थियो । बि.स. २०५७ देखि नेपाली सेनाले सो सडक बनाउने जिम्मा पाएको थियो । सेनाले २०६९ सालमा सडक निर्माण पूरा गरी डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । पैसठ्ठी किलोमिटर रहेको उक्त सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ । यो सडक खरखरे भिरको पहिरोको कारण अवरुद्ध हुँदै आएको छ । सो स्थानमा करिब सात वर्षदेखि पहिरो जान थालेको हो । 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्