दोस्रो त्रैमासमा रिलायन्सले अधिकांश सूचकमा उल्लेख्य वृद्धि, इपीएस २२ रुपैयाँ माथि
काठमाडौं - रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको देखिएको छ ।लिमिटेडले सार्वजनिक गरेको आव २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीका अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि भएको छ ।
कम्पनीले चालु आवको पुससम्ममा ६५ करोड ७३ लाख ८६ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल नाफा ४३ करोड ३६ लाख २१ हजार रुपैयाँ थियो ।
कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको कम्पनीको वित्तीय विवरणअनुसार रिलायन्सको कर तिरेपछिको नाफा १३ करोड ८५ लाख रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको पुससम्ममा कम्पनीको करतिरेपछिको नाफा १८ करोड ८८ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत आवको पुससम्मा कम्पनीको यस्तो नाफा १ करोड ६० लाख २९ हजार रुपैयाँ थियो ।
चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २२ रुपैयाँ १९ पैसा कायम भएको छ । यसअघि चालु आवको पहिलो त्रैमासमा कम्पनीको इपीएस १९ रुपैयाँ ९५ पैसा रहेकोमा दोस्रो त्रैमासमा यसले उल्लेख्य सुधार भएको हो । गत आवको पुसमा कम्पनीको इपीएस १.८८ रुपैयाँ थियो ।
कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्ममा रिलायन्सले ४ अर्ब ८४ करोड ३५ लाख ७२ हजार रुपैयाँको व्यापार गरेको छ । यस्तै २ करोड ३३ लाख ४० हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । गत आवको पुससम्ममा कम्पनीले ४ अर्ब ८२ करोड ९० लाख ९० हजार रुपैया बराबरको व्यापार गरेको थियो भने सो समयमा अन्य आम्दानी ८० लाख ९६ हजार रहेको थियो ।
चालू आवको दोस्रो त्रैमासम्ममा रिलायन्सले ४६ करोड ८७ लाख ५४ हजार रुपैयाँ कुल खर्च रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल खर्च ४२ करोड ५६ लाख ८८ हजार रुपैयाँ थियो ।
चुक्तापुँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको रिलायन्स स्पिनिङ मिल्सको अन्य इक्विटी ५ अर्ब ५३ करोड ४५ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत आवको पुससम्ममा अन्य इक्विटी ५ खर्ब ३१ करोड १३ लाख ४२ हजार रुपैयाँ थियो ।
रिलायन्स स्पिनिङ्स मिल्स लिमिटेड विसं. २०५४ मा स्थापना भएको कम्पनी हो । स्थापनाको २७ वर्षसम्ममा रिलायन्समा १५ अर्ब रुपैयाँ लगानी पुगिसकेको छ भने ४ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
यस उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्की लगायत थुप्रै मुलुकमा निर्यात पनि गर्दै आएको छ । सुनसरीमा रिलायन्सको धागो कारखाना रहेको छ । यस उद्योगले । ऊन (उल) धागो, सूति (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रियामा रहेको छ ।