अस्थायी उम्मेदवार प्रचण्ड अब कहाँबाट चुनाव लड्छन्?
काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर २ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाड्नु गल्ती भएको स्वीकार गरेका छन्।
उनले महाधिवेशनमा नै यस्तो गल्ती स्वीकार गरेर अब चुनाव क्षेत्र नछाड्ने पनि बताइसकेका छन्। यस हिसाबले अब प्रचण्डका लागि कुन निर्वाचन क्षेत्र तय होला?
यसै पनि प्रचण्डको कुनै स्थायी निर्वाचन क्षेत्र नम्बर छैन।
माओवादी सार्वजनिक भएपछि पहिलो संविधान सभाको निर्वाचनमा उनी रोल्पा र काठमाडौं–१० किर्तिपुर निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।
दोस्रो संविधान सभाको निर्वाचनमा पुग्दा उनले रोल्पा त्याग गरे र सिरहा–३ र काठमाडौं–१० नै रोजेका थिए। ०७० सालमा तेस्रो दलमा खुम्चिएको माओवादीलाई किर्तिपुरमा प्रचण्डको पराजयसँगै नराम्रो हार भयो।
विवादमा रहँदै सिरहा–३ बाट प्रचण्डलाई जिताइएको थियो। यस हिसाबले उनको स्थायी निर्वाचन क्षेत्र नै भएन।
प्रादेशिक संरचनाको कार्यान्वयनका निम्ति ०७४ सालको निर्वाचनमा प्रचण्डले चितवन–३ लाई रोजेका थिए। उनी त्यहाँ राप्रपाका बिक्रम पाण्डेलाई पराजित गरी निर्वाचित भए।
यसबेला भने एमालेसँगको गठबन्धन प्रचण्डका लागि फाइदाजनक बनेको थियो। किनभने चितवन–३ मा एमालेको राम्रो मत रहेको छ।
उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई ९३२७ मन्तारले पराजित गरेका छन्।
वाम गठबन्धनका उम्मेदवार प्रचण्डले ४८ हजार २६९ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत पाएका थिए।
०७९ मा उनी नेपाली कांग्रेससँगको गठबन्धन बनाई बाबुरामलाई समेत फकाएर गोरखा–२ मा उम्मेदवार बन्ने पुगे। ‘राष्ट्रिय नेताको निर्वाचन क्षेत्र देशका जहाँ पनि हुन सक्छ’, माओवादीहरुले प्रचण्डको बचाऊमा यसो भन्ने गरेका छन्।
जबकि, ०७४ मा नयाँ शक्तिका बाबुरामले बाम गठबन्धनलाई नै पेलेर त्यस क्षेत्रमा जित निकालेका थिए।
भट्टराईले ३१,८०७ मत प्राप्त गरेका थिए। प्रतिस्पर्धी माओवादी नेता नारायणकाजी श्रेष्ठले २४,९३३ मत पाएका थिए।
भट्टराई र श्रेष्ठको मतान्तर ६,८७४ रहेको थियो।
भट्टराई लोकतान्त्रिक गठबन्धन र श्रेष्ठ वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए।
०७९ मा भने प्रचण्डको चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका थिए। कतिपयले रास्वपा सभापति रवि लामिछाने नै प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा उत्रिने बताएका कारण उनले निर्वाचन क्षेत्र स्थानान्तरण गरेको चर्चा हुने गरेको थियो।
यसअघिको निर्वाचन क्षेत्र सिरहा–३ मा एमालेका लिलानाथ श्रेष्ठ बिजयी भएका थिए। त्यहाँ पनि प्रचण्डका लागि सुरक्षित हुने विषय नै भएन।
त्यसो भए अब प्रचण्ड कहाँबाट चुनाव लड्छन्? ‘राजनीतिमा धेरै कुराका सम्भावना छन्। चितवन–३ मा रास्वपासँग मिलेर निर्वाचन क्षेत्र खाली गराउने काम पनि हुन सक्छ’, माओवादीका एक नेता भन्छन्,‘गोरखा–२ पनि माओवादीको पकड भएको जिल्ला हो, निरन्तरता हुन सक्छ।’