भारतीय कांग्रेस सरकारका बेलादेखि सदन छिरेका सांसद सिंहले मेयर बालेनलाई ‘नाजीवादी’ भन्नुको अर्थ
काठमाडौं– सर्लाही–१ मा स्वतन्त्र उम्मेदवार बनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई ‘नाजीवादी’ भनी टिप्पणी गरेका छन्।
महानगरमा अव्यवस्थित हिसाबले रहेका कवाडी व्यापारीमाथि महानगरले डोजर चलाएको विषयलाई उछाल्दै सिंहले यस्तो शव्द प्रयोग गरेका ह्न्।
प्रतिनिधि सभाको सोमबार बैठकमा आकस्मिक समय माग गरी बोलेका सिंहले बालेनका गतिविधिले जर्मनीको हिटलर, इटलीको मुसोलिनीको याद आएको बताए।
सिंहले कवाडीमाथि डोजर चलाएर मेयर शाहले नाजीवादी शैलीमा गरिब र विपन्नहरूमाथि अन्याय गरिरहेको उनको भनाई थियो।
विवादास्पद छवि हुँदै संविधान सभा हुँदै प्रतिनिधि सभा सदस्यमा रहेका सिंहले ‘काठमाडौं महानगरका मेयरले हिटलरको शैलीमा दिनदहाडै कवाडीमाथि डोजर चलाएर गरिब मजदुरलाई घाइते बनाएका छन्। जर्मनीमा लोकतान्त्रिक प्रक्रियाबाटै नाजीवादको उदय भएजस्तै मेयर शाह तानाशाह बनेर निस्किएका छन्’ पनि भने।
उनले भने, ‘बालेनको गतिविधिले जर्मनीको हिटलर, इटलीको मुसोलिनीको याद आएको छ।’
यो देशमा न्याय र कानुन मरेको भन्दै सांसद सिंहले संघीय सरकारलाई मिचिएको अधिकार जोगाउन आग्रह गरे। सांसद सिंहले काठमाडौं सबै नेपालीको राजधानी भएको भन्दै आँट भए संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रधानमन्त्रीनिवास र राष्ट्रपति कार्यालय शीतलनिवास भत्काएर देखाउन चुनौती दिए।
सांसद सिंह ०६४ सालको संविधान सभा निर्वाचनका बेला भारतीय कांग्रेसको सरकारका पालामा नेपालको राजनीतिक तहमा उदाएका हुन्। उनको बिगत नै विवादीत रहेको छ। भारतमा भारतीय जनता पार्टी (भाजपा)को सरकार आएपछि उनी भाजपा बिरोधीका रुपमा प्रस्तुत हुन्छन्।
सांसद सिंह आफैं सर्लाही जिल्लामा गुन्डागर्दी मच्चाउने नेतामा गनिन्छन्। उनलाई नेपाली कांग्रेस सर्लाही, मधेस प्रदेशले चुनावअघि कारबाही गरेको थियो। चुनावमा टिकट नपाएका कारण उनी कांग्रेस सभापति शेरबहादुर देउवासहित आरजु राणाप्रति खनिँदै आएका छन्।
प्रतिनिधि सभामा पनि उनले धेरै पटक चटक देखाइसकेका छन्। बोल्न समयको माग गर्दा नपाएका कारण नग्नता प्रस्तुत गरेका थिए। सभामुखले उनलाई कारबाहीको चेतावनी त्यसबेला दिएका थिए।