कोइराला समूहमा नरहेको भन्ने कांग्रेस महामन्त्री गगन थापाको स्पष्ट संकेत यस्तो छ
काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले सार्वजनिक रुपमा नै पार्टीको आगामी महाधिवेशनमा दाजु शेखर कोइरालालाई सभापति बनाउनुपर्ने घोषणा गरेकी छन्।
१४औं महाधिवेशनमा प्रकाशमान सिंहको पक्षमा उभिएकी सुजाता अब भने शेखरको पक्षमा खुलेकी छन् तर सोही समूहबाट महामन्त्रीमा निर्वाचित भएका गगन थापाले भने अलग भएको सांकेत दिइसकेका छन्।
थापाले पत्रकारहरुसँगको एउटा संवादका क्रममा कोइराला समूह छाड्ने संकेत मात्र दिएका छैनन्, अन्य दुई विकल्पका संकेत पनि गरेका छन्।
यसअघि क्यानडा नेपालले चर्चा गरेको सभापति शेरबहादुर देउवाको उत्तराधिकारी बन्ने या अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसँगको नयाँ समूह तयार पार्न सक्ने कोणबाट नै थापाको भनाई आएको छ।
नेपाल विद्यार्थी संघमा रहेका बेला विश्वप्रकाश शर्मा सभापति हुँदा थापा उपसभापतिका रुपमा काम गर्ने एक नेता हुन्। र, थापाको लाइनबाट नै प्रदीप पौडेल विद्यार्थी नेतृत्वमा उक्लिएका थिए।
अर्कातर्फ भने गिरीजाप्रसाद कोइराला सभापति रहेका बेला थापा देउवा समूहका विद्यार्थी नेताका रुपमा परिचित थिए।
थापाले आगामी महाधिवेशनका विषयमा थापाले अहिले नसोचिसकेको बताएका छन्। ०८२ मंसिर र पुसभित्रै महाधिवेशन सक्नुपर्ने पक्षमा पनि थापा उभिएका छन्।
उनले कोइराला समूह सक्रिय रहेको र महाधिवेशनको तयारी गरेको सन्दर्भमा पनि बोलेका थिए। उनले भने,‘म कार्यकारी पदमा निर्वाचित भएको हुँ। म महामन्त्री भएको हुँ। म कुनै समूहबाट अलग छैन। को–कहाँ चर्चा गरिरहेको छ भन्ने मेरो सरोकारको विषय भएन। १४औं महाधिवेशनमा मैले बनाएको हो, समूह।’
यो भनाईले थापा कोइराला समूहबाट अलग हुने स्पष्ट संकेत गर्दछ भने थप तर्कले नयाँ विकल्पका विषयमा पनि थापाले तयारी गरिरहेको प्रष्ट पार्छ।
महामन्त्री थापा भन्छन्,‘सभापति शेरबहादुर देउवा दाईसँग हामी दुई महामन्त्री म र विश्वप्रकाश दाई बसेर अहिले पार्टीलाई गति दिने कुरा भएको छ।
हामीलाई १५औं महाधिवेशन लागिसकेको छैन। लाग्नु हुँदैन अहिले भन्ने सल्लाह भएको छ। महाधिवेशन लागेका बेला लाग्छ। र, जसको केही काम छैन, उनीहरुलाई महाधिवेशन लागेको होला। त्यतातिर हाम्रो ध्यान छैन।’
थापाको राजनीतिक उडान भने फरक हिसाबले चलेको थियो। उनी महामन्त्रीसम्म पुग्दा ‘नागबेली’ शैलीमा निर्वाचित हुँदै आएका थिए।
१३औं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गरेका थापा कृष्ण सिटौलाको समूहमा उभिएका थिए। उनी उक्त समूहबाट केन्द्रीय समिति सदस्य, १४औं महाधिवेशनमा कोइरालासँगको सहकार्यमा महामन्त्री पदमा निर्वाचित भएका थिए।
अब उनी सभापतिका लागि अभ्यास गरिरहेका छन्। जसका लागि थापाले मौकाको खोजी गरिरहेका छन्।